कांग्रेस सभापति देउवाद्वारा पार्टीको कार्यकारी भूमिका परित्याग

आश्विन २८, २०८२ | काठमाडौं
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको छ । केन्द्रीय कार्यसमितिको बैठकमा सभापति देउवा आफैं उपस्थित भएर उपसभापति खड्कालाई कार्यवाहक दिनुभएको हो ।
योसँगै देउवाले पार्टीको कार्यकारी भूमिका परित्याग गर्नुभएको छ । भदौ २४ गते आन्दोलनकारीको आक्रमणमा परेर अस्वस्थ भएका देउवा आजको केन्द्रिय कार्यसमितिको बैठकमा सहभागी हुनुभएको थियो । सो घटनापछि उहाँ पहिलो पटक सार्वजनिक हुनुभएको हो । देउवाले आगामी महाधिवेशनमा आफू उम्मेदवार नहुने घोषणा समेत गर्नुभएको छ ।
यसैबीच, खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए लगत्तै आजको केन्द्रिय समिति बैठक स्थगित गरी पर्सि बिहीबार १ बजेका लागि बोलाइएको छ । देउवाले केन्द्रीय कार्यसमितिले तोकिएकै समयभित्रै महाधिवेशनको मिति तोक्ने बताउनुभएको छ । बैठकका एजेन्डाबारे सहमति नभएपछि दुई दिनका लागि बैठक स्थगित गरिएको हो । त्यसपछि नेताहरु अनौपचारिक छलफलमा जुटेका छन् । विशेष महाधिवेशनका लागि संस्थापन इतर पक्षले संकलन गरेको हस्ताक्षर भने भोलि मात्र बुझाइने भएको छ ।