माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकताको पहल तीव्र

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ७, २०८२ | काठमाडौं

माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकताका लागि शुरु भएको पहलले तीव्रता पाएको छ । आगामी निर्वाचन अघि नै एकता गर्ने तयारीमा जुटेका दुई दलका नेताहरुबीच पछिल्लो साता घनिभूत छलफल भइरहेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सैद्धान्तिक र संगठनात्मक बिषयलाई प्राथमिकतामा राखेर सहमतिको प्रयास भइरहेको नेताहरुले बताएका छन् । 

पार्टी एकताका लागि माओवादी केन्द्रभित्र खासै विवाद नदेखिएपनि एकीकृत समाजवादीका केही नेताले तत्काल माओवादीसँग एकीकरण गर्न नहुने धारणा राखेकाले एकताको प्रयासले सार्थकता पाउन नसकेको हो । एकीकृत समाजवादीका एक नेताका अनुसार सम्मानित नेता झलनाथ खनालसहित केही नेताले माओवादीसँगको एकताको बिषयमा सैद्धान्तिक मुद्दाको निरुपण हुनुपर्नेमा जोड दिएका छन् । माओवादीले माओवाद छाड्न तयार भएपनि व्यवहारमा समेत त्यसलाई देखाउनुपर्ने खनाल पक्षीय नेताहरुको बुझाइ रहेको ती नेताले बताए । 

पार्टीको नाम, विधान, चुनाव चिन्ह लगायत बिषय मिलाउने प्रयास भइरहेको छ । एकीकृत समाजवादीसँग एकताको पहल भइरहँदा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले भने नेत्रविक्रम चन्द नेतृत्वको पार्टीसँगको एकताका लागि प्रयास जारी राखेकाले तीन दलबीच सैद्धान्तिक बिषयमा एकरुपता अझै आउन नसकेको बताइन्छ । 

माओवादी केन्द्रका नेताहरुले समाजवादीभित्रको विवाद मिलेपछि मात्र एकतालाई टुंगो लगाउनुपर्ने पक्षमा आफूहरु भएको बताउँदै आएका छन् । यसैबीच, एकीकृत समाजवादीले आगामी कात्तिक १२ गतेका लागि केन्द्रिय कमिटी बैठक बोलाएको छ । माओवादी केन्द्रसँगको एकताका लागि पार्टीको औपचारिक धारणा तय गर्न बैठक बोलाइएको हो । 


प्रतिक्रिया