एकताको विषयपछि एकीकृत समाजवादी विभाजित हुने संकेत

कार्तिक १५, २०८२ | काठमाडौं

माओवादी केन्द्रसँगको एकतालाई लिएर विवाद बढेपछि एकीकृत समाजवादी विभाजित हुने देखिएको छ ।

पार्टीको केन्द्रीय कमिटीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि रुष्ट भएका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत नेताले काठमाडौंमा आज छुट्टै भेला गरेका छन् । ती नेताहरुले महासचिव भुसालको संयोजकत्वमा ‘नेकपा एकीकृत समाजवादी (भुसाल) समूह’ गठन गर्ने गृहकार्य शुरु गरेको बताइएको छ ।

त्यस्तै, भुसाल समूहले पार्टी पुनर्गठन गर्ने भन्दै आफू पक्षीय केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेका छन् । अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा संस्थापन पक्षले माओवादी केन्द्रसँग एकता गर्ने तयारी गरिरहेका बेला अर्को पक्षले चालेको कदमले समाजवादी विभाजन उन्मुख देखिएको हो ।

भुसाल समूहका नेता दामोदर अर्यालले एकीकृत समाजवादीको पुनर्गठनको पक्षमा उभिन आग्रह गर्ने निकर्षमा आफूहरु पुगेको बताउनुभयो । भेलामा नेता खनाल, भुसाल, उपाध्यक्ष घनेन्द्र बस्नेत, उपमहासचिव विजय पौडेल, स्थायी कमिटी सदस्य जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, हरि पराजुलीलगायत सहभागी भएका थिए । नेताहरुका अनुसार समाजवादीको ४ सय ५५ केन्द्रीय सदस्यमध्ये १ सय ५८ जनाले पुनर्गठनको पक्षमा उभिने बताएका छन् ।

यसैबीच, माओवादीसँग एकता गर्न नहुने पक्षमा उभिएका नेताहरुले एमाले फर्किने योजना बनाएको बताइएको छ । केही नेताले एमालेका नेताहरुसँग सम्वाद समेत शुरु गरेका छन् । एमाले अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीका नेताहरुलाई पार्टीमा फर्किन आग्रह गर्नुभएको थियो । 


प्रतिक्रिया