सर्वोच्च अदालत आजदेखि नियमित सुनुवाइमा
मंसिर १, २०८२ | काठमाडौं
सर्वोच्च अदालतले आजदेखि नियमित सुनुवाइ गर्ने भएको छ । जेनजी आन्दोलनका कारण क्षति व्यहोरेको सर्वोच्च ६९ दिनपछि नियमित सुनुवाइमा फर्किएको हो । आन्दोलनका क्रममा अदालतमा भएको तोडफोड र आगजनीका साथै मिसिल समेत नष्ट भएपछि भदौ २४ गतेदेखि अदालतको नियमित कामकारबाही रोकिएको थियो । त्यस यता, क्रमिक रूपमा सेवा विस्तार गरेको सर्वोच्चमा आज देखि नियमित सुनुवाइ हुने भएको हो ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले आजदेखि नियमित सुनुवाइ हुने बताउनुभयो । कोइरालाका अनुसार यसअघि अदालतमा नियमित सेवा प्रवाह नहुँदा रोकिएका मुद्दाको हदम्याद, म्याद तारिख थाम्नका लागि ३० दिनको समय दिइएको छ । सर्वोच्च प्रशासनले भदौ २४ देखि कात्तिक ३० गतेसम्मलाई शून्य अवधि मानेर अदालत पूर्ण सञ्चालनमा आएपछिलाई मुद्दाको म्याद, हदम्याद तथा तारिख गणना हुने व्यवस्था गरेको हो ।









