एमालेमा केपी ओली थप शक्तिशाली, पदाधिकारीमा इतर पक्षका दुई जना मात्र
पुस ३, २०८२ | काठमाडौं
समकालिन नेपाली राजनीतिका एक प्रमुख पात्र केपी शर्मा ओली नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक निर्वाचित हुनुभएको छ । पार्टीको ११ औं महाधिवेशनले अध्यक्षमा ओली र महासचिवमा शंकर पोखरेलसहित ३ सय १ सदस्यीय केन्द्रिय कमिटी चयन गरेको छ । गत भदौ अन्तिम साताको जेन जी आन्दोलनपछि सत्ताबाट बाहिरिएका ओली पार्टीमा भने बलियो बन्नुभएको छ ।
२०७१ भएको नवौ महाधिवेशनबाट पहिलो पटक अध्यक्ष बनेका ओलीले एमालेको नेतृत्वमा ह्याट्रिक गर्नुभएको हो । ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गर्नुभयो । अध्यक्षका अर्का प्रत्यासी ईश्वर पोखरेलले ५ सय ६४ मत मात्र ल्याउनुभयो । ओली प्यानलबाट उपाध्यक्षमा दोहोरिनेहरुमा विष्णु पौडेल र रामबहादुर थापा रहनु भएको छ । पौडेलले १ हजार ६ सय ७५ मत ल्याउँदा थापाले १ हजार ५ सय १६ मत प्राप्त गर्नुभयो । त्यस्तै पृथ्वीसुब्बा गुरुङले लोकप्रिय मत १ हजार ७ सय ३७ प्राप्त गर्दै उपाध्यक्षमा विजयी हुँदा पोखरेल पक्षका गोकर्ण विष्ट १ हजार ३ सय ६८ मतसहित उपाध्यक्षमा विजयी हुनुभयो । संस्थापन पक्षबाट उपाध्यक्षको उम्मेदवार सूचीमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका रघुजी पन्त पनि १ हजार २ सय ५८ मतसहित विजयी हुनुभयो । उपाध्यक्षमा डा. बिन्दा पाण्डे, गुरु बराल, अरुण नेपाल, परशुराम मेघी गुरुङ, टंक कार्की र भीम आचार्य पराजित हुनुभयो ।
महासचिवमा ओली प्यानलकै शंकर पोखरेल १२ सय २८ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९ सय ९९ मत प्राप्त गर्नुभयो । उपमहासचिवमा ओली प्यानलकै लेखराज भट्ट र रघुवीर महासेठ तथा पोखरेल प्यानलका योगेश भट्टराई विजयी हुनुभयो । भट्टले १ हजार ४ सय ५२, महासेठले १ हजार ३ सय ६८ र भट्टराईले १ हजार ३ सय ४८ मत प्राप्त गर्नुभयो । यसअघि उपमहासचिव रहेका बिष्णु रिमाल तथा आनन्द पोखरेल र बैजनाथ चौधरी पराजित हुनुभयो । ९ सचिवमा भने सबै ओली प्यानल नै निर्वाचित भएको छ । सचिवमा सबैभन्दा धेरै मत महेश बस्नेतले १ हजार ५ सय ४४ मत प्राप्त गर्नुभयो । यस्तै, दोस्रो स्थानमा पद्माकुमारी अर्यालले १ हजार ५ सय ३० मत प्राप्त गर्नुभयो । छविलाल विश्वकर्माले १ हजार ५ सय ६, शेरधन राईले १ हजार ५ सय ३, हिक्मतकुमार कार्कीले १ हजार ३ सय ३७, खगराज अधिकारीले १ हजार २ सय ३१, यामलाल कँडेलले १ हजार १ सय ८५ र राजन भट्टराईले १ हजार १ सय ८१ मत ल्याई सचिवमा निर्वाचित हुनुभयो । भानुभक्त ढकाल पनि १ हजार १ सय ८ मतसहित सचिवमा निर्वाचित हुँदा पोखरेल पक्षका सबै उम्मेदवार हारेका छन् ।
गोकुल बास्कोटा, ठाकुर गैरे, रचना खड्का, कर्ण थापा, अग्नि खरेल, बिनोद ढकाल, कृष्णगोपाल श्रेष्ठ, लालबाबु पण्डित, पेम्बा लामा, पुरुषोत्तम पौडेल र इन्द्रलाल सापकोटा पराजित हुनुभयो । केन्द्रिय कमिटी सदस्यमा पनि ओली पक्षकै वर्चश्व देखिएको छ । केन्द्रिय सदस्यमा प्रदीप ज्ञवाली, सुहाङ नेम्वाङ, सुनिता डंगोल, खिमलाल भट्टराई, पदम गिरी, पार्वत गुरुङ, महेश बर्तौला, विशाल भट्टराई, सुर्य थापा लगायत नेता निर्वाचित भएका छन् । महासचिवमा पराजित सुरेन्द्र पाण्डे र उपमहासचिवमा हारेका बिष्णु रिमाल केन्द्रिय सदस्यमा समेत पराजित हुनुभयो । पदाधिकारी हारेपनि इश्वर पोखरेल, बिन्दा पाण्डे, लालबाबु पण्डित, ठाकुर गैरे, गोकुल बास्कोटा,अग्नी खरेल, आनन्द पोखरेल र रचना खड्का लगायत नेता भने केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । एमालेको महाधिवेशनमा खुलासहित विभिन्न क्लस्टरमा निर्वाचन भएको थियो ।









