असार अन्तिमसम्म सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइ सम्पन्न गर्ने सरकारको तयारी

रेडियो कान्तिपुर संवाददाता

चैत्र २३, २०८२ | काठमाडौं

सरकारले आगामी असार अन्तिमसम्म छपाइ सम्पन्न गर्न बाँकी रहेका सवारी चालक अनुमतिपत्र, लाइसेन्स छपाइ गर्ने जनाएको छ । लाइसेन्स छपाइ प्रक्रियालाई तीव्र बनाउँदै असारसम्म छाप्न बाँकी रहेका २९ लाख प्रति छपाइ गर्ने सरकारले महत्वपूर्ण लक्ष्य लिएको हो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सामाजिक सञ्जालमार्फ सो बारे जानकारी दिँदै यातायाता व्यवस्था विभागबाट प्राप्त भएको २४ घण्टा भित्र नयाँ लाइसेन्स छाप्ने गरि तयारी गरिएको जनाएको छ । 

सञ्चारमन्त्री विक्रम तिमिल्सिनाका अनुसार लामो समयदेखि लाइसेन्स नपाउँदा सेवाग्राहीले भोग्दै आएको समस्या समाधान गर्नका लागि सो तयारी गरिएको हो । यसअघि समेत लाइसेन्स छपाई सम्पन्न गर्ने महत्वपूर्ण लक्ष्य लिइएपनि पूरा हुन नसकिरहेको अवस्थामा मन्त्री तिमिल्सिनाको सो प्रतिबद्धता आएको हो । समयमै लाइसेन्स पाउन नसकेको भन्दै सरकारी निकायको कार्यशैलीप्रति सवारी चालक रुष्ट बन्दै आएका छन् ।  

शासकीय प्रबन्ध कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न क्षेत्रलाई समेटेर तत्काल गर्न सकिने १० वटा प्रमुख कामको सूची सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार नागरिक एप मार्फत प्रहरी प्रतिवेदन, राहदानी तथा सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा एकीकृत गरि ४५ दिन भित्र सञ्चालनमा ल्याउने, सरकारी सेवा ९० दिन भित्र घरघरमा पुर्याउने, लाइसेन्स छपाई सहज बनाउने तथा सरकारी वेबसाइट लाई ३० दिन भित्र अपाङ्गमैत्री बनाउने जस्ता विषय कार्यान्वयन गर्न लागिएको हो । 

 यस्तै कृतिम बौद्धिकता अर्थात् एआई सम्बन्धी नीतिगत सुधारका लागि ९० दिन भित्र आवश्यक विधेयक बनाउने जस्ता विषय प्राथममिकतामा राखिएको छ ।    


प्रतिक्रिया