एमाले र कांग्रेससँग अरुले मुकाविला गर्न सक्दैनन् : अध्यक्ष ओली
पुस १५, २०८२ | काठमाडौं
प्रमुख पार्टीका नेताहरुले पुराना दलहरुको भूमिका र औचित्यबारे गलत भाष्य निर्माण गर्न खोजिएको टिप्पणी गरेका छन् । नयाँ दल र समूहबीच एकता हुने क्रम बढिरहेका बेला ती दलका नेताहरुले आगामी निर्वाचनमा आफूहरुसँग प्रतिस्पर्धा सहज नभएको समेत बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले र कांग्रेससँग अरुले मुकाविला गर्न नसक्ने बताउनुभयो । लोकतन्त्रको रक्षाका लागि एमाले र कांग्रेस मिलेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
अर्को प्रसंगमा एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटबारे सर्वोच्च अदालतले तत्काल फैसला दिनुपर्ने बताउनुभयो । यस्तै, एमाले उपाध्यक्ष रामवहादुर थापाले भने कांग्रेससँग मिलेर चुनाव लड्नुपर्ने धारणा राख्नुभयो । आधा–आधा सिटमा दुई दल मिल्नुपर्ने उहाँको भनाइ थियो ।









