लोकतन्त्र र सामाजिक न्यायका लागि कांग्रेसले कसैसँग सम्झौता गर्दैन : सभापति थापा
माघ १७, २०८२ | काठमाडौं
कांग्रेस सभापति गगन थापाले बदलिएको कांग्रेसले देश बदल्ने संकल्प लिएर अगाडि बढेको बताउनुभएको छ । कांग्रेस काठमाडौँ क्षेत्र नं ४ ले आज आयोजना गरेको निर्वाचन परिचालन मूल समिति घोषणा समारोहमा उहाँले देश बदल्नका लागि कांग्रेस बदलिएको बताउनुभयो । आगामी दिनमा टिकट लिन नेताको घरमा चाहर्ने प्रवृत्तिको अन्त्य हुनेगरी कार्यकर्तालाई बलियो बनाउन लागिएको उहाँको भनाइ थियो ।
सभापति थापाले लोकतन्त्र र सामाजिक न्यायको बारेमा कांग्रेसले कसैसँग सम्झौता नगर्ने बताउनुभयो । सभापति थापाले मधेशलाई काठमाडौँसँग जोड्न र मधेशको मुद्दा बुझ्नका लागि आफूले सर्लाही क्षेत्र नं ४ बाट उम्मेदवारी दिएको उल्लेख गर्नुभयो । सभापति थापाले प्रणालीमा सुधार गर्न सही कानुन बनाउनुपर्ने उल्लेख गर्नुभयो ।











