टाइगर कप भलिबल : पुरुषतर्फको उपाधि गण्डकी प्रदेशलाई
माघ १७, २०८२ | काठमाडौं
पोखरामा आयोजित छैटौं संसकरणको टाइगर कप भलिबलको पुरुषतर्फको उपाधि घरेलु टोली गण्डकी प्रदेशले जितेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटले पराजित गर्दै गण्डकी च्याम्पियन बनेको हो ।
पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले त्यसपछिका सेटमा लगातार जित निकाल्दै उपाधि उचालेको हो । गण्डकीले दोस्रो सेट २८–२६ तेस्रो सेट २६–२२ र अन्तिम तथा चौथो सेट २५ –१७ ले आफ्नो पक्षमा पारेको हो ।
यस अघिको संस्करणमा पुलिससँग उपाधि बारे रोकिएको गण्डकीले यस पटक भने बदला समेत लिएको थियो । अघिल्लो वर्ष पुलिसले गण्डकी प्रदेशको टोलीमाथि ३–१ को सेटमा जित निकालेको थियो ।
तर यस पटक भने गण्डकीले बदला लिँदै पुलिसलाई सोही अन्तरले पराजित गरेको हो । च्याम्पियन बनेको गण्डकी प्रदेशले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार पाएको छ भने उप विजेता बनेको पुलिसले ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा पर्वत जिल्ला भविलब संघले तेस्रो स्थान प्राप्त गरेको छ ।











