पाकिस्तानमा सशस्त्र समूहको आक्रमणमा १० सुरक्षाकर्मी र ३७ लडाकुको मृत्यु
माघ १७, २०८२ | काठमाडौं
पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा सशस्त्र समूहले गरेको आक्रमणमा कम्तीमा १० जना सुरक्षाकर्मी र ३७ जना लडाकुको मृत्यु छ ।
आज प्रान्तीय राजधानी क्वेटाका विभिन्न प्रहरी चौकीमा स्थानीय बलोच नामक सशस्त्र समूहले गरेको आक्रमणका क्रममा उनीहरुको मृत्यु भएको हो । आक्रमणका क्रममा सुरक्षाकर्मीहरू र आक्रमणकारीबीच धेरै स्थानमा भीषण भिडन्त भएको थियो ।
अफगानिस्तान र इरानसँग सीमा जोडिएको सो क्षेत्रमा विद्रोही समूहहरुले राज्यका सुरक्षाबल, विदेशी नागरिक तथा गैर–स्थानीय व्यक्तिलाई लक्षित गर्दै आक्रमण गर्ने गरेको समाचारमा जनाइएको छ ।
पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले जारी गरेको विज्ञप्तिमा आक्रमणमा १० जना सुरक्षाकर्मीको मृत्यु भएको पुष्टि गरिएको छ भने सुरक्षाबलले गरेको जवाफी कारबाहीमा ३७ जना लडाकु मारिएको उल्लेख छ ।
भारतीय समर्थनमा पछिल्लो समय आक्रमणको घटना बढेको पाकिस्तानी अधिकारीहरुले दाबी गर्दै आएका छन् । यद्यपि भारतले आक्रमणको विषयमा कुनै प्रतिक्रिया भने नजनाएको अजजिराले जनाएको छ ।
यसअघि पाकिस्तानले दक्षिण पश्चिम राज्यमा गरेको दुई वटा सुरक्षा कारबाहीका क्रममा ४१ जनाको मृत्यु भएको जनाएको थियो ।











