वरिष्ठ कलाकार सुनिल थापाको निधन

रेडियो कान्तिपुर संवाददाता

माघ २४, २०८२ | काठमाडौं

वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा ६८ वर्षको उमेरमा निधन भएको हो । 

हृदयाघात भएपछि उहाँलाई बिहान नर्भिक अस्पताल लगिएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो । थापा शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आउनु भएको थियो । 

गएराति अबेरसम्म नेपाली चलचित्र रामनाम सत्यको छायांकनमा ब्यस्त रहेका थापा सुटिङका लागि चाँडै उठ्नु छ भन्दै सुत्न गएको उहाँका सहयोगीले बताएका छन् । बिहान उठाउन जाँदा थापा आफ्नै अपार्टमेन्टमा बेहोश भेटिनु भएको थियो । 

नेपाली चलचित्रमा खलनायकको भूमिकालाई पनि नायक सरह चर्चा र सम्मान दिलाउन सफल थापा चिनो फिल्मबाट राते काइँलाको नामले चर्चित हुनुहुन्थ्यो । 

बलिउडका थुप्रै चलचित्रहरुमा प्रभावशाली अभिनय गरेका थापाका परिवारकासदस्यहरू भने भारतको मुम्बई बस्दै आएका छन् । थापाको परिवार आजै काठमाडौं आएपछि मात्रै उहाँको अन्त्येष्टिबारे निर्णय लिइने अध्यक्ष निरौलाले जानकारी दिनु भयो । 

थापाको आकस्मिक निधनमा नेपाली सिने क्षेत्र स्तब्ध भएको छ । थापाको जन्म सन् १९५७ मा दाङमा भएको थियो । बलिउड सिनेमा एक दुजे के लिएबाट अभिनय सुरु गर्नु भएका थापाले तेलुगु र भोजपुरी सिनेमा गरेर सय बढी सिनेमामा काम गर्नु भएको छ । 


प्रतिक्रिया