रामेछाप बस दुर्घटनामा मृत्यु हुने १२ मध्ये ९ जनाको सनाखत

रेडियो कान्तिपुर संवाददाता

माघ २७, २०८२ | रामेछाप

रामेछापको मन्थली नगरपालिका–६ मा भएको बस दुर्घटनामा मृत्यु हुने १२ मध्ये ९ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार आज साँझसम्म मृतक १२ मध्ये ९ जनाको सनाखत भएको हो । दुर्घटनामा बसमा सवार ७ पुरुष र ५ महिला गरी १२ जनाको मृत्यु भएको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार काठमाडौंबाट मन्थली–खुर्कोट पुष्पलाल सडक हुँदै रामेछापको सिरिसे ढाँडे भएर ओखलढुंगाको पोल्थली जाँदै गरेको अरनिको यातायात प्रालिको बस रामेछापको मन्थली नगरपालिका–६ स्थित बेनीघाट पुल नजिक आज बिहान करिब ११ बजे दुर्घटनामा परेको हो । बस सडकबाट खसेर तामाकोशी नदीमा डुबेको थियो ।

बसका चालकसहित २० जनाको उद्धार गरी सदरमुकाम मन्थली र सिन्धुलीको खुर्काेटस्थित शुभ जीवन हस्पिटल पठाइएकोमा मन्थली अस्पताल लगिएका १२ जनालाई अस्पताले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङका भीमबहादुर तामाङ र उनकी श्रीमती ३५ वर्षकी सानुमाया तामाङ, ३१ वर्षकी तारा तामाङ र रमिता तामाङको मृत्यु भएको छ ।

त्यसैगरी दोलखा भीमेश्वर नगरपालिका–७ बस्ने बबि तामाङ, भीमेश्वर नगरपालिका–८ बस्ने मानबहादुर तामाङ, रामेछाप लिखु तामाकोशी गाउँपालिका–४ का दीपेश बस्नेत, सोही वडाका दीपेन्द्र बस्नेतको ज्यान गएको छ । त्यस्तै सिन्धुली गोलन्जोर गाउँपालिका–६ बस्ने शिव श्रेष्ठको सनाखत भएको छ । अन्य मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ५ पुरुष र ३ महिला गरी ८ जना घाइते भएका छन् । घाइतेमध्ये बस चालक रामेछाप मन्थली नगरपालिका–११ का सुशान्त थापा मगरलाई उपचार पश्चात् प्रहरीको नियन्त्रणमा राखेको छ । घाइतेहरूमध्ये ७ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने एक जनाको मन्थली अस्पतालमै उपचार भैरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो दुर्घटनामा परेका २ जना बालकको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।


प्रतिक्रिया