निर्वाचनको अन्तिम परिणाम चैत पहिलो साता राष्ट्रपति पौडेलसमक्ष पेस गर्ने तयारी
फाल्गुन २७, २०८२ | काठमाडौं
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम चैत पहिलो साता राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयारी गरेको छ । समानुपातिकतर्फ मतगणना पनि सम्पन्न भएपछि प्रतिवेदन पेस गर्ने तयारीमा निर्वाचन आयोग जुटेको हो । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चैत ५ देखि ७ गतेभित्र राष्ट्रपतिसमक्ष प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन पेस गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
यसपटक ६ वटा दलले मात्रै समानुपातिक मतको न्यूनतम आवश्यक मत (थ्रेसहोल्ड पार गरेका छन् । अहिलेको मतपरिणाम अनुसार थ्रेस होल्ड कटाउन करिब तीन लाख १५ हजार मत ल्याउनुपर्ने छ । यस पटक समानुपातिकतर्फ ४७ वटा दलले भाग लिएका थिए । प्रत्यक्ष तर्फका १ सय ६५ सिटकै परिणाम आइसकेको छ ।
घोषित परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष अर्थात् पहिलो हुने निर्वाचन प्रणालीतर्फ १२५ सिटमा विजय हासिल गरेको छ । नेपाली कांग्रेसले १८ सिट, नेकपा (एमाले) ९ सिट र नेपाली कम्युनिस्ट पार्टीले ७ सिटमा विजय हासिल गर्दा श्रम संस्कृति पार्टीले तीन सिट जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले एक सिट जित्दा स्वतन्त्रतर्फ पूर्वशिक्षामन्त्री महावीर पुन निर्वाचित हुनुभएको छ ।
धनुषा क्षेत्र नं. १ को घोषित परिणामको निरूपण भने सर्वोच्च अदालतबाट हुने भएको छ । निर्वाचन आयोगले फागुन १८ गते रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेजीको निर्णय गरेपछि घण्टीमा आएको मत बदर हुने निर्णय गर्दै मतगणना गरिएको थियो । सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको इजलासले सोमबार फागुन २९ गतेलाई पेसी तोकेर आयोगको निर्णयको सक्कलसहित दुवै पक्षलाई बोलाएको छ ।









