दादुरा नियन्त्रणकालागि ढोरपाटनका बालबालिकालाई खोप लगाइने
फाल्गुन २७, २०८२ | बागलुङ
बागलुङको ढोरपाटन क्षेत्रमा दादुराको संक्रमण बढेपछि प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले नगरपालिका भित्रका ६ हजार ७ सय बालबालिकालाई दादुरा बिरुद्दको खोप लगाउने भएको छ ।
उमेर समूह अनुसार जन्मेको १५ महिना भित्रका बालबालिकालाई दादुराको खोप लगाउनुपर्ने प्रावधान छ । तर यहाँका बालबालिकाले समयमा खोप लगाएको हो वा होइन भन्ने यकिन नभएको र विविध कारणले गाउँमै संक्रमण फैलिएपछि खोप लगाइने भएको कार्यालयका प्रमुख प्रविण शर्माले बताउनुभयो ।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढोरपाटन क्षेत्रमा दादुरा बिरुद्दको खोप लगाउन सहयोग गर्ने भएको छ । नगरभित्रका १० देखि २० बर्ष उमेर समूहका बालबालिका र किसोर किसोरीमा दादुराको प्रकोप देखिएको हो ।
स्वास्थ्य सेवा बिभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ढोरपाटन नगरपालिका भित्रका धेरै बालबालिकाको दादुरा लागेको पुष्टी भएको थियो ।











