कांग्रेसकोे केन्द्रीय कार्यसमितिको बैठक जारी
चैत्र ६, २०८२ | काठमाडौं
नेपाली कांग्रेसकोे केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । निर्वाचनपछि पहिलो पटक कांग्रेसको बैठक बसेको हो । बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाको राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गर्ने तयारी गर्नु भएको छ ।
यस्तै, बैठकले सभापति थापाले अस्ती उपसभापति शर्मालाई बुझाएको राजीनामा पत्र सर्वसम्मतीबाट अस्वीकृत गर्ने अपेक्षा गरिएको छ । निर्वाचनमा पार्टीले व्यहोरेको हारको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले बुधबार शर्मालाई राजीनामा बुझाउनु भएको थियो । सभापति थापाले राजीनामा पत्रमा आफ्नो निर्णय पराजित मानसिकताको उपज नभएर जिम्मेवारीबोधको अभिव्यक्ति रहेको उल्लेख गरेका छन् ।
त्यस्तै बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा गरिने सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले जानकारी दिनुभयो । बैठकमा उपसभापति शर्माले निर्वाचनको प्रारम्भिक समीक्षा, सभापतिको राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव एकसाथ पेस गर्ने बुझिएको छ । पूर्वसभापति देउवा पक्षका केही नेताले भने चुनावमा अपेक्षित परिणाम नआएपछि नैतिकताको प्रश्न उठाउँदै सामाजिक सञ्जालमा थापाको राजीनामा माग्दै आएका छन् ।









