पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले मुलुकका अधिकांश स्थानमा वर्षा
चैत्र ६, २०८२ | काठमाडौं
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले मुलुकका अधिकाश स्थानमा वर्षा भइरहेको छ । आज बिहानदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भएको छ ।
त्यस्तै, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन÷चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस्तै, पूर्वी र पश्चिम नवलपरासीमा हावाहुरीसहित वर्षा भएको छ। बुटवल, दाङ सहित लुम्बिनी प्रदेशका अन्य स्थानमा हावाहुरी सहित वर्षा भइरहेको छ । हावाहुरी पछि सो स्थानका विभिन्न क्षेत्र दिउँसै अध्यारो भएको छ । यस्तै, अहिले काठमाडौंका विभिन्न स्थानमा समेत वर्षा भइरहेको छ ।
त्यस्तै, कोसी, मधेस, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन, असिना, हावाहुरीसहित मध्यम वर्षाको सम्भावना छ । वाग्मती र लुम्बिनी प्रदेशका केही स्थानमा पनि मेघगर्जन, असिना, हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
यसैबीच,राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका विभिन्न स्थानमा प्रतिकूल मौसमको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागबाट जारी पूर्वानुमानअनुसार भोलि र पर्सि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।
यस्तै दाङ र नेपालगञ्ज आसपासका लुम्बिनी प्रदेशका तराई क्षेत्रका जिल्ला र पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको प्राधिकरणको भनाइ छ ।
हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा छाना उड्ने, साथै विद्युत् र सञ्चार सेवा प्रभावित हुन सक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ । मौसममा हुने परिवर्तनले हुन सक्ने जोखमबाट जोगिन अनावश्यक यात्रा नगर्न, हावाहुरी चलिरहेका बेला घरभित्रै सुरक्षित रहन भनिएको छ ।
हावाहुरीका बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीका खम्बा तथा तार नजिक नजान, बिजुलीका तार लत्रिएको देखिएमा नछुन र त्यस्तो अवस्थामा विद्युत् उपकरण प्रयोग नगर्न समेत प्राधिकरणले आग्रह गरेको छ ।









