कपिलवस्तुको महाराजगन्जमा निषेधाज्ञाबीच गोली चल्दा ७ जना घाइते

चैत्र ७, २०८२ | कपिलवस्तु

कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा निषेधाज्ञाकाबीच प्रहरीको गोली लागेर ५ जना प्रदर्शनकारी घाइते भएका छन् । त्यस्तै, प्रदर्शनकारीसँग भएको झडपमा २ प्रहरी घाइते भएका छन् । दुई समुदायबीच पश्चिम महाराजगन्ज नगरपालिका–६, जिगना चौराहामा भएको विवादपछि झडपले उग्र रुप लिँदा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले तीन जना घाइतेको शिवराज अस्पताल बहादुरगन्जमा उपचार भइरहेको बताउनुभयो । उहाँका अनुसार घाइतेको विवरण संकलन गर्ने काम भइरहेको छ ।

प्रशासनले भने दिउँसो २ बजे देखि नै अर्को आदेश नभएसम्म महराजगन्ज नगरपालिकाको पूर्व बर्गदी पुल, पश्चिम बहादुरगन्ज चोक, उत्तर महाराजगन्ज बजार र दक्षिण हर्दौनासम्म भेला, सभा, जुलुस र प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको छ। आदेश उल्लघंन गर्नेलाई कानुनअनुसार नियन्त्रणमा लिई कारबाही गरिने निमित्त प्रमुख जिल्ला अधिकारी घिमरेले बताउनुभयो । स्थानीय प्रशासन २०२८ को दफा ६ को ३ क बमोजिम निषेज्ञाषा जारी गरिएको हो । 


प्रतिक्रिया