खंगलाई उच्च अदालतमा हाजिर गराउन आदेश

आश्विन २, २०७५ | जनकपुर

साहुलाई दुई सय तिर्न नसक्दा एक वर्षका लागि जेल चलान गरिएका जनकपुर उपमहानगरपालिका १८ कुवा रामपुरका ६० वर्षीय राधाकृष्ण खंग (खत्वे) लाई बिहीबार बिहान १० बजे अदालतमा उपस्थित गराउन आदेश उच्च अदालत जनकपुरले सुनाएको छ ।

खंगलाई गैरकानूनी थुनामा राखिएको उल्लेख गर्दै प्रदेश २ मुख्य न्यायाधीवक्ताको कार्यालयले सोमवार उच्च अदालत जनकपुरमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएको थियो । मंगलवार निवेदनमाथि भएको बहस पश्चात उच्च अदालत जनकपुरका न्यायाधीश ध्रुवराज नन्दको एकल इजलासले खंगलाई बिहीबार बिहान १० बजे अदालतमा उपस्थित गराउन विपक्षीहरु धनुषा जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला कारागार महोत्तरी र साहु बिक्रु भन्ने बिक्रम यादवको नाममा आदेश जारी गरेको हो ।

निवेदनमाथि प्रदेश २ का मुख्य न्यायधीवक्ता दीपेन्द्र झा स्वयंले बहस गरेका थिए । न्यायाधीश चन्दले सुनाएको आदेशमा बन्दीसंग सम्बन्धित लेनदेन मुद्दा र बिगो मुद्दाको सक्कल मिसिल सहितका कागजात साथै राखी उच्च सरकारी वकिल कार्यालय जनकपुर मार्फत विपक्षी नम्बर १ (धनुषा जिल्ला अदालत, धनुषा, जनकपुर)ले जवाफ पेस गर्नु र विपक्षी नम्बर २ र ३ (जिप्रका धनुषा र जिल्ला कारागार महोत्तरी)ले बन्दी राधाकृष्ण खंग (खत्वे) लाई उच्च सरकारी वकिल कार्यालय जनकपुर मार्फत लिखित जवाफ साथै उपस्थित हुन आउनु भनि विपक्षीहरुको नाउमा उच्च अदालत नियमावली २०७३ को नियम ३७ बमोजिम यो आदेश जारी गरी दिएको उल्लेख छ । 

प्रदेश २ का मुख्यन्याधीवक्ता दीपेन्द्र झाले राधाकृष्ण खंग कारागार मुक्त हुने विश्वास व्यक्त गरेका छन् । कान्तिपुरसंगको भेंटमा उहाँले भन्नुभयो, ‘देवानी संघीताको धारा ४८१ मा सावा भन्दा बढी व्याज लिन नपाउने व्यवस्था छ । दुई सयको सावा र ब्याज १ लाख ६५ हजार कसरी भयो ? सम्मानित अदालतले खंगलाई न्याय दिन्छ भने मेरो विश्वास हो ।’ 

जनकपुर उपमहानगरपालिका १८ कै बिक्रु भन्ने बिक्रम यादवसंगको लेन देन मुद्दामा जिल्ला अदालत धनुषाले जेल सजाय सुनाएको राधाकृष्ण खंग(खत्वे) आईतबार स्वयं जिल्ला अदालत धनुषामा हाजिर भई जेल चलान गरी दिन आग्रह गरेका थिए ।

खंगले गाउँकै बिक्रु भन्ने बिक्रम यादवसंग २०४६ साल श्रावण १५ गते घर खर्चको लागि १ हजार ऋण लिएको तथा ९ महिना पछि ८ सय चुक्ता गरी सकेको बताएका थिए । रिक्सा चलाएर जीवन यापन गर्ने खंगको परिवारमा श्रीमती, दुई छोरा र दुई छोरी छन् । विवाह पछि दुबै छोरी ससुरामा छिन् । दुबै छोरा अ–आफ्ना परिवार सहित छुट्टै बस्छन् ।  


प्रतिक्रिया