लाटकोसेरो तथा हुच्चील उत्सवको तयारी पूरा
माघ १७, २०७५ | खोटाङ
लाटकोसेरो तथा हुच्चील उत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ । शुक्रबार र शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा हुने लाटकोसेरो तथा हुच्चील उत्सवको तयारी पूरा भएको आयोजकले जनाएको हो ।
उत्सव मुल आयोजक समितिका संयोजक तथा वडा न–१२ का वडा अध्यक्ष विकाश राईका अनुसार मञ्च व्यवस्थापन, हुच्चीलको स्तम्भ, लोपोन्मुख सांस्कृतिक कार्यक्रमहरु संगीनी, बालन, लाखे, डम्खुसेलो, साकेला, लोपोन्मुख खेलहरु गिर, लाथ्रो काट्ने लगायतको तयारी सकिएको छ ।
बिजुली–पानी, होटल लगायतको व्यवस्थापन, हुच्चील तथा लाटकोसेरोको अस्थायी संग्रहालय निर्माण पूरा भएको छ । सडक तथा यातायात व्यवस्थापनको काम पनि लगभग सकिएको संयोजक राईले बताउनुभयो ।
प्रकृतिको साथी र वडा कार्यालय जालपाको आयोजनामा हुने उक्त उत्सवमा स्थानीय उत्पादनका स्टलहरु समेत तयारी गरिएको छ । उत्सवको करीब छ हजार देशी–विदेशीले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
उत्सवको पहिलो दिन चरा अवलोकन, प्रकृतिको फोटो खिच्ने, लाटकोसेरो सम्बन्धी लघु म्युजियम प्रदर्शनी, घिर गाडे, झुलो चक्मक, खाथ्रो काट्ने लगायतका लोपोन्मुख स्थानीय खेलहरुको प्रतियोगिता हुने छ ।
त्यस दिन राति लाटकोसेरो सम्बन्धी भिडियो तथा स्लाइड प्रस्तुत गरिने छन् । उत्सवको दोश्रो दिन संस्कृति संरक्षण अन्तरगत स्थानीय डम्फु, सेलो, साकेला, मारुनी, संगीनी, बालन, सडक नाटक, हाक्पारे, स्थानीय बाजाहरु (मुर्चुङ्गो, पीपीरी, यलम्बर, मादल, बासुरी) प्रदर्शन गरिने छ ।
त्यस दिन वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीहरुले लाटकोसेरो सम्बन्धी नाँच प्रस्तुत गर्ने संयोजक राईले बताउनुभयो ।