हिउँदे अधिवेशनबाट राजधानी टुङ्गो लगाउने : मुख्यमन्त्री पौडेल

माघ १८, २०७५ | हेटौंडा

प्रदेश ३ को पहिलो बैठक बसेको शुक्रबार एक वर्ष पुगेको छ । सो  अवसरमा प्रदेश सभा—३ को सचिवालयले हेटौंडामा प्रथम वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव समारोहमा मुख्यमन्त्री डोरमणि पौडेलले हिउँदे अधिवेशनबाट राजधानी र नामाकरणको विषय टुङ्गो लगाउने बताउनुभयो ।

प्रदेशसभा गठन भएको एक वर्षको अवधिमा सरकारले २८ वटा विधेयक दर्ता गर्न सफल भएको उहाँले बताउनुभयो । प्रदेश सरकारले आफनो क्षमता र जिम्मेवारी आधारमा सन्तुष्ट ढंगले काम गरेको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

प्रदेश प्रहरी, लोक सेवा आयोग सम्बन्धी विधेयकहरु संघीय सरकारले नबनाए सम्म आफूहरुले बनाउन नसक्ने उहाँले जानकारी दिनुभयो । छिटै नै १० वटा विधेयक संसदमा दर्ता गराउने जानकारी दिदै उहाँले भन्नुभयो, ‘अब संसद विजनेसबिहीन हुँदैन ।’ 

कार्यक्रममा प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बहादुर बानियाँले सरकारलाई सकरात्मक दृष्टिकोणले हेरेको भएता पनि राजधानी र नामाकरणको विषय अझै टुंग्याउन नसकेको बताउनुभयो । सरकारले प्रदेश सभालाई विजनेस नदिएर बन्धक बनाउन नहुने भन्दै उहाँले  हिउँदे बैठक तत्काल राखेर राजधानी र नामाङ्कनको टुंगो लगाउनु पर्ने उल्लेख गर्नुभयो । 

राजधानी र नामाङ्कन टुंगो नलगाउँदा प्रदेश सभाको नै गरिमा हस हुँदै गएको उहाँको भनाई थियो । वार्षिकोत्सव समारोहमा प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले धन्यवाद दिंदै प्रदेशको काम कारबाही बारे जानकारी गराउनु भएको थियो । 

प्रदेश सभाको एक वर्षमा ८० वटा बैठक बसेको छ । प्रदेश सभाको पहिलो अधिवेशनमा १९ बैठकमा १३ घण्टा ४३ मिनेट र दोस्रोमा ६१ वटा बैठकमा ६६ घण्टा ३९ मिनेट बसेको थियो ।

प्रदेश सभामा तत्कालीन एमालेबाट ५८ जना, तत्कालीन नेकपा माओवादी केन्द्रबाट २३ जना, नेपाली कांग्रेसबाट २१ जना, विवेकशील साझा पार्टीबाट ३ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना राप्रपाबाट १ जना, राप्रपा प्रजातान्त्रिकबाट १ जना र स्वतन्त्र (नयाँ शक्ती पार्टी) बाट १ जना प्रदेश सभा सदस्यसहित १ सय १० जना प्रदेश सभा सदस्य रहेका छन् । तीमध्ये भक्तपुरका प्रदेशसभाको सदस्यको निधन भएकाले अहिले एक सय ९ जना प्रदेशसभा सदस्य रहेका छन् । 

यो अवधिमा प्रदेश सभामा प्रस्तुत भएका २८ वटा विधेयकहरुमध्ये २४ वटा विधेयकहरु पारित तथा प्रमाणीकरण भई ऐनको रुपमा आईसकेको छ भने ४ वटा विधेयक प्रदेश सभामा विचाराधिन अवस्थामा रहेको छ । 


प्रतिक्रिया