बारामा हावाहुरी पीडितका लागि परिचयपत्र
चैत्र २३, २०७५ | बारा
- बारामा गत आइतबार आएको भीषण हावाहुरीबाट पीडितलाई राहत वितरणका लागि बारा जिल्ला प्रशासन कार्यलयले परिचयपत्र वितरण सुरु गरेको छ । गैर पीडितले समेत राहत लिने गरेको पाइएपछि वास्तविक पीडित पहिचान गर्नका लागि परिचयपत्र वितरण सुरु गरिएको जिल्ला प्रशासन कार्यलयलाई उद्धृत गर्दै सहकर्मी लक्ष्मी शाहले जनाएका छन् ।
आज बिहानैदेखि लगातारको परेको असिना पानी रोकिएसँगै राहत वितरणकार्य भने जारी छ । यसअघि सदरमुकाम कलैयालगायत बाराका विभिन्न स्थान परेको मुसलधारे पानीले राहत वितरण समेत प्रभावित बनेको थियो । बिहानैदेखि अपरान्हसम्म असिनासहित परेको मुसलधारे पानीले कलैयाका देवकोटा चोक, तिनकुने चोक लगायत स्थानका सडकहरु जलमग्न भएका थिए । असिनाले खाद्यवालीमा समेत क्षति पुर्याएको हाम्रा सहकर्मीले जनाएका छन् ।