जनताको भावना अनुसार काम गर्न सांसदको सुझाव

फाल्गुन २५, २०८१
संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाका सांसदहरुले प्रतिगामी शक्तिको चलखेल शुरु भएको भन्दै जनताको आक्रोश र असन्तुष्टी सम्वोधन गर्न सुझाव दिएका छन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आक्रमण गर्ने प्रयास भएकाले जनताको भावना अनुसार काम गर्नुपर्ने बताएका छन् । सांसद जयन्ती राईले प्रतिगामी तत्व सल्बलाउन थालेको बताउनुभयो ।
सांसद उदयवहादुर बोहोराले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि प्रभावकारी काम नहुँदा जनतामा निराशा बढेको बताउनुभयो । सत्तारुढ दलले सबैको भावना अनुसार अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।
अर्का सांसद जगप्रसाद शर्माले मुलुकमा राजा फर्काउने भनेर नाटक मञ्चन भएको टिप्पणी गर्नुभयो । ठूलो संघर्षबाट प्राप्त राजनीतिक उपलव्धिमाथि प्रहार हुन थालेको उहाँले बताउनुभयो ।
राष्ट्रिय सभाका सांसद युवराज शर्माले जनताको असन्तुष्टी सम्वोधन गर्दै संविधानको भावना अनुसार अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।
गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्ने भ्रममा पूर्वराजा ज्ञानेन्द्र शाह हौसिन आवश्यक नरहेको बताउनुभएको छ । सुर्खेतमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हो भनेर केही मानिसहरुले भ्रम फैलाइरहेको बताउनुभयो । नेपाली जनताले दिएको स्वतन्त्रता नबिर्सिन आग्रह गर्नुभयो ।
राजतन्त्रको पक्षमा राजावादी शक्तिको गतिविधि तीव्र भएका बेला गृहमन्त्री लेखकको पछिल्लो अभिव्यक्ति आएको हो ।