धौलीगंगा बाँध राति देखि खोलिने, सर्तकता अपनाउन सूचना जारी

असार ११, २०७६ | दार्चुला

भारतको उत्तराखण्डको पिथौरागढ जिल्ला धारचुला ग्रामसभा अर्न्तगत पर्ने छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाध आज राति १२ बजेदेखि खोलिने भएको छ ।

धौलीगंगा जलविद्युत परियोजना धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार भोलि बेलुका ६ ः ४५ बजेसम्म सिल्ट फ्लशिंगको कार्यका लागि बाँध खोलिन लागेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिनुभयो ।

परियोजनाको ड्याम साइटमा गरिने सिल्ट फ्लशिंगका लागि बाँध खोलिने हुँदा महाकाली नदीमा पानीको सतह बढ्ने भन्दै ब्यास गाउँपालिकाको धौलाकोट देखि लेकम गाउँपालिकाको लालीसम्मका महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई नदी किनारमा नजान तथा सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना प्रकाशन गरी आग्रह गरेको छ । बुधबार राति १२ बजेदेखि बिहीबार बेलुका पौने ७ बजेसम्म बाँध खोलिने परियोजनाले जनाएको छ । 


प्रतिक्रिया