चरि बाघको छाला सहित सशस्त्रका जवान पक्राउ

श्रावण २५, २०७६ | दार्चुला

सशस्त्र प्रहरीका जवानलाई चरि बाघको छाला सहित प्रहरीले दार्चुलाबाट पक्राउ गरेको छ । दुहु गाउँपालिका २ हिकिलाबाट सदरमुकाम खलंगा आउने क्रममा बाघको छाला सहित सशस्त्र प्रहरीका जवान दिपकसिंह बडाललाई प्रहरीले पक्राउ गरेको हो । 

बहृमदेव प्रहरी चौकीबाट गस्तीमा खटिएको टोलीले सुरक्षा जाँचका क्रममा सशस्त्र प्रहरीको ५० नम्बर गुल्म दार्चुलामा कार्यरत दुहु गाउँपालिका २ हिकिलाका बडालको साथमा बाघको छाला भेटिएपछि पक्राउ गरिएको हो ।

चरि बाघको छाला फेला परेपछि छालासहित सशस्त्र प्रहरीका जवानलाई नियन्त्रणमा लिएको शनिबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार झोलामा लुकाएर सदरमुकाम ल्याउने क्रममा दुहु गाउँपालिका ३ स्थित दार्चुला तिंकर सडक खण्डको तिमुरपाटा क्षेत्रमा चेकजाँच गर्दा समातिएको चरि बाघको छालाको लम्बाई ३९ इन्च र चौडाई १० इन्च रहेको छ ।

चरि बाघको छालासहित समातिएका बडाललाई सोधपुछ गर्दा अर्का व्यक्तिले झोला नभएको भन्दै झोलामा राखी दिन अनुरोध गरेपछि आफूले बोकेर ल्याएको बयान दिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक रविन्द्र कठायतले बताउनुभयो ।

बडालको साथबाट बरामद छाला र नियन्त्रणमा लिइएको मानिसलाई थप कारबाहीका लागि अपीनाम्पा संरक्षण क्षेत्र दार्चुलालाई बुझाईने प्रहरीले जनाएको छ । छालासहित समातिएका उनलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार एक लाख जरिवाना, १५ वर्ष कैद तथा दुबै सजायँ हुन सक्ने अपीनाम्पा संरक्षण क्षेत्र कार्यालयले जनाएको छ । 


प्रतिक्रिया