कुकुर मारेको अभियोगमा उजुरी

भाद्र १७, २०७६ | खोटाङ

कुकुर मारेको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालसहित तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी परेको छ । नगरप्रमुख रिजालको निर्देशनमा मुलुकी अपराध संहिता विपरित कुकुर मारेको भन्दै नगर प्रमुख रिजाल, स्थानीय खेमराज आचार्य र नगरप्रमुखको घरमा बस्ने भोजपुरका श्रेष्ठ थरका एक व्यक्ति विरुद्ध प्रहरीमा उजुरी परेको हो ।

जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी खुट्टाका बाजिन्द्र विष्ट, स्नेहाज केयर ललितपुर, भैसेपाटीकातर्फबाट पशु प्राविधिक सुमनकुमार श्रेष्ठ र नेपाल भेटेरीनरी एशोसिएसनका तर्फबाट पशु चिकित्सक सिताराम यादवले संयुक्त उजुरी दिएका हुन् ।

उजुरीमा दिक्तेलको त्रिवेणीचौक र भानुचौकमा गत भदौ १४ गते घरपालुवा, बटुवा तथा सामुदायिक कुकुरहरुको मुख र टाउकोमा चिपर्टले कुट्ने, डोरीमा झुन्डाउने, विष समेत प्रयोग गरी सार्वजनिक स्थलमा निर्मम तरिकाले मार्न लगाइएको र कुटपिट गरी अचेत अवस्थामा जिउँदै करीब दुई सय कुकुर खाडलमा पुरेको’ भन्दै कारबाहीको माग गरिएको छ ।


प्रतिक्रिया