हवाई फायर गरेर लुटेरा पक्राउ

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २५, २०७६ | दाङ

प्रहरीले हवाई फायर गरेर आज दाङको तुलसीपुरबाट तीन जना लुटेरालाई पक्राउ गरेको छ । अन्य दुई जना फरार छन् । तुलसीपुर उपमहानगरपालिका ३ खमारीस्थित चमेरेगुफा घुमेर मोटरसाइकलमा फर्कने क्रममा दुई जनालाई अपहरण गरी लुटपाट गर्ने समूहलाई गोली प्रहार गरी पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

लुटेरा समूहले शनिबार बेलुका मोटरसाइकलमा रहेका ४६ वर्षीय पुरुष र २९ वर्षीया महिलालाई अपहरण गरी जंगलमा लगेर कुटपिट गरी अश्लिल भिडियो खिचेका थिए । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालिदिने धम्की दिंदै उनीहरुले ५ लाख रुपैयाँ मागेका थिए ।

उक्त रकम दिने क्रममा आज बिहान खमारीको जंगलमा लुटेरा पक्राउ परेका हुन् । भाग्न खोजेपछि दुई राउण्ड हवाई फायर गरी पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । अपहरणमा परेको दिन उनीहरुको साथमा रहेको रा ४ प ६०८३ नम्बरको मोटरसाइकल, मोबाइल, पर्स लगाएतका सामानहरु लुटिएको थियो ।

पक्राउ पर्नेमा तुलसीपुर ३ खमारीका १९ वर्षीय विमल वली १९ वर्षीय नविन नेपाली र २६ वर्षीय दुजबहादुर खत्री रहेका छन् । खमारीकै २३ वर्षीय ईश्वर पुन र २० वर्षीय अर्जुन पुन फरार रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विनोदविक्रम शाहले बताउनुभएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको उहाँले जानकारी दिनुभयो ।


प्रतिक्रिया