सिद्धबाबाको डीएनए परीक्षणका लागि नमूना संकलन 

मंसिर २०, २०७६ | सुनसरी

बलात्कारको आरोप खेपिरहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको डीएनए परीक्षणका लागि नमूना संकलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाईएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण भने यसअघि नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गरिसकेको छ । अब पीडित महिलाको भेजिनल स्वावसँग सिद्धबाबाको डीएनए म्याच भए/नभएको निर्कोल विधि विज्ञान प्रयोगशालाले गर्नेछ । यस्तै अनुसन्धान टोलीले सिद्धबाबाका सहयोगीसँग बयान लिईसकेको जनाएको छ ।

 प्रतिष्ठानका भान्से, सिद्धबाबाका ‘बडीगार्ड’ र घटना भएको दिन सिद्धबाबासँगै रहेका अन्य अनुयायीको पनि बयान लिईएको अनुसन्धानमा संलग्न डीएसपी विनोद शर्माले बताउनुभयो । उहाँका अनुसार प्रहरीले अहिले सिद्धबाबा र पीडित महिलाबीचको टेलिफोन रेकर्डको अनुसन्धान गरिरहेको छ । अनुसन्धान टोलीमा डीएसपी शर्मा र इन्स्पेक्टर सुभेष अधिकारी खटिएका छन् । यसैबीच, सिद्धबाबा विरुद्ध अनुसन्धान गर्न सुनसरी अदालतले जिल्ला प्रहरीलाई दोस्रो पटक ७ दिनको समय दिएको छ । 

अदालतबाट ७ दिनको म्याद लिएपछि प्रहरीले सिद्धबाबालाई पुन: विराटनगरस्थित विराट नसिंङ होममा भर्ना गरेको छ । गत सोमबार ४ दिनको म्याद पाएको सुनसरी प्रहरीले सिद्धबाबालाई अस्पताको आईसीयुबाटै उठाएर करीब ५५ किलोमिटरको दुरीमा रहेको सुनसरी अदालतमा उपस्थित गराएको थियो । 

पीडित महिलाले आफूलाई सिद्धबाबा भनिने कृष्णबहादुरले गत कार्तिक ४ गते बलात्कार गरेको भन्दै मंसिर १३ गते सुनसरी प्रहरीमा जाहेरी दिएकी हुन् । सुरुमा भने सुनसरी प्रहरीले पीडितको जाहेरी लिन अस्वीकार गरेको थियो ।

आफूविरुद्ध प्रहरीमा उजूरी परेको जानकारी पाए लगतै बिरामी भएको बहानामा सिद्धबाबा सोही दिन अस्पताल भर्ना भएका थिए । सुनसरीको बराहक्षेत्र चतरास्थित जगतगुरु श्री रामानन्दचार्य सेवापीठ सञ्चालन गरिरहेका सिद्धबाबाविरुद्ध यसअघि पनि २ बालिका माथि बलात्कार गरेको अभियोग लागेको थियो । 

यस्तै, सिद्धबाबासँग जन्ममिति नै फरक भएका दुई वटा नागरिकता पनि छन् । सुनसरी-मोरङ सिंचाई आयोजनाको बराहक्षेत्रस्थित चतराको जग्गा कब्जा गरेर सिद्धबाबाले ८ करोड लागतको १ सय २८ कोठे वातानुकूलित आश्रम निर्माण गरेका छन् । सो आश्रमको राष्ट्रपति विद्यादेवी भण्डारीले केही समय अघि उद्घाटन गर्नुभएको थियो ।  


प्रतिक्रिया