योमरी पुन्ही,  नेवार समुदायमा हर्सोल्लासका साथ मनाइँदै

मंसिर २६, २०७६ | काठमाडौं

आज योमरी पुन्ही, नेवार समुदायमा हर्सोल्लासका साथ मनाइँदैछ । धान्य पूर्णिमाका रुपमा पनि प्रचलित यो पूर्णिमालाई नेवारी समुदायको प्रमुख चाडको रुपमा लिइन्छ । नेपाल भाषामा ‘यो’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी र मिठाइ हो । सबैलाई मनपर्ने भएकाले नै यसको नाम योमरी राखिएको संस्कृतिविदहरुको भनाई छ ।

आजका दिन बिशेषगरी गृहणीले शुद्ध भएर चामलको पिठो, चाकु, तील, मासु, गुँदपाक र खुवाबाट योमरी बनाउने चलन रहेको छ  । नेवार समुदायममा आफैंले उत्पादन गरेको अन्न तथा ढुकुटी पुजा गरेर मात्र खाने चलनअनुसार यो पर्व मनाइन्छ ।   यस अवसरमा ज्यापू महागुठीले विभिन्न उत्सव, गुठी तथा पूजाआजा गर्ने परम्परा छ । आजका दिन नेवारी गीत गाउँदै नाच्दै योमरी माग्न आउने युवायुवतीलाई योमरी दिएर खुसी पार्ने परम्परा रहेको छ ।

यसैबीच आजै १६ औँ ज्यापू दिवश पनि मनाइँदैछ । नेपाल भाषामा ‘ज्या’ भनेको काम र ‘पू’ भनेको बीउ हो । निरन्तर खेती किसानीमा संलग्न हुने मेहनती र पौरखी समुदायको रुपमा उनीहरुलाई लिने गरिएको छ ।  दिवशका अवसरमा काठमाण्डौंको टेकुबाट भित्री शहर हुँदै वसन्तपुरसम्म धिमेबाजा र बाँसुरी बजाउँदै सांस्कृतिक र्‍यालीसहित सभा गर्ने कार्यक्रम छ ।


प्रतिक्रिया