भारतबाट तीन बालक सहित ७ किशोरको उद्धार

मंसिर २६, २०७६ | सलार्ही

भारतको सितामढीस्थित बालगृहमा बस्दै आएका तीन बालक सहित ७ किशोर लाई उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ । डेढ महिनादेखि भारतमा रहेका उनीहरुलाई बिहीबार दिउँसो सितामढीबाट उद्धार गरी अभिभावकको जिम्मा लगाइएको हो । 

उद्धार गरी ल्याइएकाहरु मध्ये तीन जना बालक सडकमा माग्न लगाइएको बेला र ६ किशोर तथा एक युवालाई भारतको विभिन्न सहर जाने क्रममा भारतीय सुरक्षाकर्मीले बालगृहमा पुर्‍याएका थिए । उद्धार गरिएकाहरुमा सर्लाही चन्द्रनगर गाउँपालिका–२ बस्ने १५ वर्षीय रवीकुमार सदा, १७ वर्षीय सन्तोष माझी, १४ वर्षीय सन्दिप कुमार माझी, १८ वर्षीय विवेक कुमार माझी चन्द्रनगर–६ का १६ वर्षीय रुपेश कुमार माझी, सोही ठाउँका १५ वर्षीय विक्रम माझी छन् । 

यस्तै, ईश्वरपुर नगरपालिका–११ का १७ वर्षीय राजु माझी, रामनगर गाउँपालिका–६ का ८ वर्षीय सदरे आलम, लालबन्दी नगरपालिका–२ जुटपानीका ११ वर्षीय बिरवल कुमार र पर्सा जिल्ला वीरगञ्जका १० वर्षीय कृष्ण पटेल रहेका छन् ।

उनीहरुलाई ललाईफकाई भारत लगेका बालक आलम, बिरवल कुमार र पटेललाई भने सडकमा माग्दै गरेका बेला भारतीय सुरक्षाकर्मीले बालगृहमा पुर्‍याएका थिए । घर परिवारलाई थाहै नदिई भागेका ६ किशोर र एक युवा भारतको विभिन्न सहरहरुमा जाँदै गरेका बेला भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिई बालगृहमा राखेका थिए । 

सितामढी बालगृहले दिएको जानकारी अनुसार ती किशोरहरुका अभिभावकसँग सम्पर्क गरी स्वदेश फिर्ता ल्याउन ग्रोइङ नेपाल फाउण्डेशनले पहल गरेको थियो ।


प्रतिक्रिया