लाप्राक गुप्सीपाखाबाट सेना फिर्ता

पुस २, २०७६ | गोरखा

गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा निर्माणाधिन एकीकृत नमुना बस्तीबाट नेपाली सेना फिर्ता भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले लाप्राकका भूकम्प पीडितका लागि गुप्सीपाखामा ५ सय ७३ घर निर्माण गरिरहेको छ । सुरक्षा र पुननिर्माणमा सहयोगका लागि भन्दै २०७३ माघ बाट नेपाली सेना गुप्सीपाखामा खटिएको थियो । एनआरएनएका अध्यक्ष कुमार पन्त सँग सल्लाह गरेर गुप्सीपाखा छाडेको रणसिंह दल गणका प्रमुख उज्वल केसीले बताउनुभयो । अब फिनिसिङको काम बाँकीरहको र सेनाको तर्फबाट गर्ने भनिएको काम सकिएको उहाँले बताउनुभयो । पछिल्लो समय रणसिंह दल गण अन्तर्गत क्याम्प्टेन विजय गिरी नेतृत्वको ३० जना सेना गुप्सीपाखामा खटिएका थिए । कामको प्रकृति अनुसार एक सय ७३ जना सम्म नेपाली सेना लाप्राक बस्ती पुननिर्माणमा खटिएको केसीले बताउनुभयो । लाप्राक बस्तीमा मात्र नेपाली सेनाको तर्फबाट आठ करोड रुपैयाँ वरावरको श्रमदान भएको उहाँले बताउनुभयो ।


लाप्राक गुप्सीपाखाबाट सेना फर्किँदै  हरि उप्रेती

बस्ती निर्माण शुरु गर्दा एक वर्ष भित्र काम सक्ने गरि नेपाली सेना सग सम्झौता भएको थियो । बस्ती निर्माणले पुर्णता नपाउँदा यस अघि दुई पटक म्याद थप गरि नेपाली सेनाले पुननिर्माणमा सहयोग गर्दै आएको थियो । गत असोज महिनामै नेपाली सेनाले अस्थायी क्याम्प छाड्ने तयारी गरेपनि एनआरएनएको आग्रहमा मसिर २९ सम्म पुनः म्याद थप भएको थियो ।नेपाली सेना बाहिरिएपछि आजै गुप्सीपाखामा नेपाल प्रहरीको अस्थायी पोष्ट स्थापनाको तयारी गरिएको छ । एनआरएनएका कामदारको अलवा नेपाली सेनाले बस्तीको घरको जग निर्माण देखिकै काम गरेका थिए । खाल्डा खन्ने, गारो लगाउने, वायल्डीङ, रङ लगाउने छाना छाउने सबै जसो काम नेपाली सेनाबाट भएको एनआरएनएका साइट म्यानेजर लक्ष्मण अर्यालले बताउनुभयो । बस्ती निर्माण अन्तिम चरणमा पुगेको पनि अर्यालले बताउनुभयो । घर निर्माणको ९० प्रतिशत काम सकिएको र शौचालय ४० प्रतिशत मात्र बन्न बाँकी रहेको उहाँले बताउनुभयो ।गुप्सीपाखामा घर ठडीएपनि तलामा काठ विछ्याउने काम बाँकी छ । हिउँ नपग्लदा गत शुक्रबारबाट बस्ती पुननिर्माणको काम रोकिएको साइट म्यानेजर अर्यालले बताउनुभयो । २०७३ माघमा काम शुरु गर्दा एक वर्षमै काम सकिने भनिएपनि एनआरएनएको ढिलासुस्तीले बस्ती पुननिर्माणले पुर्णता पाएको छैन । लाप्राकका भूकम्प पीडित भने जोखिम भनेकै बस्तीमा अस्थायी घर निर्माण गरि बस्दै आएका छन् । 

लाप्राक गुप्सीपाखाबाट सेना फर्किँदै  हरि उप्रेती

प्रतिक्रिया