चन्द समूहका २१ नेताले धरौटीको सट्टा कारागार रोजे

पुस ७, २०७६ | दाङ

प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका २१ नेताहरु अदालतको आदेशपछि पनि थुनामुक्त हुन मानेनन् । जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाले आज जनही १५ हजार रुपयाँ धरौटीमा छोड्न आदेश दिए पनि उनीहरु फेरि पक्राउ हुने डरले कारागार जान तयार भएका छन् । 

उनीहरुलाई जिल्ला कारागार घोराही राखिएको छ । अदालत बाहिर ठूलो संख्यामा प्रहरी परिचालन भएकाले फेरि पक्राउ पर्न सक्ने अबस्था देखेपछि उनीहरु कारागार जान तयार भएको बुझिएको छ । प्रहरीले भने धरौटी रकम नबुझाएका कारण कारागार गएको बताएको छ । अदालतको आदेश अनुसारको धरौटी रकम बुझाउन नसकेपछि कारागार गएको र धरौटी रकम बुझाएको दिन छुट्न सक्ने जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराइले बताउनुभयो ।

उनीहरुलाई असोज ३० मा बैठकस्थल घेरा हालेर राजपुर गाउँपालिका ४ मगराइनाबाट पक्राउ गरिएको थियो । स्थानीय ज्ञानेन्द्र विक्रम रानाको घरमा मध्य कमाण्डको बैठक बसेर सुतिरहेको बेला राति १ बजे प्रहरीले घेरा हालेर पक्राउ गरेको थियो । 

उनीहरुविरुद्ध प्रहरीले संगठित अपराध र राज्य विरुद्धको अपराधमा मुद्दा दर्ता गरेको थियो । उनीहरुको साथबाट मेड इन यूएस्ए लेखिएका दुई पेस्तोल, चार कटुवा पेस्तोल, थ्रिनटथ्री राइफलको ५ राउण्ड गोली, एक सुतली बम र ३ लाख ८४ हजार ५ सय ३० रुपयाँ नगद् बरामद् भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विनोदविक्रम शाहले बताउनुभयो । 

कारागार जानेहरुमा चन्द समूहका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमाण्ड ईञ्चार्ज शिवराज नगरपालिका ८ कपिलवस्तुका ५९ वर्षीय चन्द्रबहादुर चन्द, केन्द्रीय सदस्य तथा राप्ती व्यूरो ईञ्चार्ज माडी गाउँपालिका ५ भाबाङका ५४ वर्षीय केशबहादुर बाँठा र केन्द्रीय सदस्य तथा युवा संगठनका केन्द्रीय अध्यक्ष तुलसीपुर उपमहानगरपालिका ५ बसपार्क दाङका ३१ वर्षीय वविन केसी भनिने दिपराज शेर्पाली छन् । 

मध्यपश्चिम कमाण्ड ईञ्चार्ज चन्द महासचिव नेत्रविक्रम चन्दका सहोदर जेठा दाजु हुन् । उनी विगतको माओवादी विद्रोहमा पनि सहभागी उच्च तहका नेता हुन् । यसैगरी राप्ती व्यूरो सदस्य तथा वेपत्ता योद्धा परिवार समाजका अध्यक्ष तुलसीपुर १९ बिजौरीका ६५ वर्षीय रामबहादुर थापा, दाङ जिल्ला ईञ्चार्ज राप्ती गाउँपालिका ५ सिसहनियाका ४६ वर्षीय यमलाल कटुवाल र दाङ जिल्ला सेक्रेटरी तुलसीपुर ८ का ३९ वर्षीय प्रदिपबहादुर वली छन् । 

यस्तै, सल्यान जिल्ला ईञ्चार्ज कुमाख गाउँपालिका ६ बडगाउँका ५२ वर्षीय रमेश आचार्य भनिने डिल्लीराज शर्मा, पश्चिम रुकुम जिल्ला सेक्रेटरी आठविसकोट नगरपालिका ८ पहाडका २८ वर्षीय जित क्षेत्री भनिने चन्द्रबहादुर बुढा र रोल्पाको रुन्टीगढी, दाङको बंगलाचुली, प्यूठानको सरुमारानी र सल्यानको कपुरकोट ईञ्चार्ज समेत रहेका सुनछहारी गाउँपालिका १ घुसबाङ रोल्पाका ३३ वर्षीय पुस्तमान घर्ती र रोल्पा नगरपालिका २ लिबाङका ५८ वर्षीय दलबहादुर खत्री छन् ।

यसैगरी राप्ती व्यूरो कार्यालय सचिव घोराही उमहानगरपालिका १६ का ३९ वर्षीय सविन पोख्रेल भनिने बालकृष्ण शर्मा, रोल्पाको थबाङ स्वायत्त क्षेत्र सेक्रेटरी थबाङ १ का ३५ वर्षीय अमित घर्ती, थबाङ स्वायत्त क्षेत्र ईञ्चार्ज थबाङ १ का ४३ वर्षीय हितप्रसाद रोका र अखिल नेपाल किसान संघका दाङ जिल्ला अध्यक्ष लमही नगरपालिका ३ टिकुलीगढका ४३ वर्षीय एकराज चौधरी पनि धरौटी रकम नबुझाएर कारागार गएका छन् ।

यस्तै दलित मुक्ती मोर्चाका दाङ जिल्ला अध्यक्ष राप्ती गाउँपालिका १ भालुबाङका ३३ वर्षीय सुरज परियार, युवा संगठनका केन्द्रीय सदस्य घोराही १७ पनौराका ३९ वर्षीय तिलक पुन, दाङको राजपुर गाउँपालिका ईञ्चार्ज आठविसकोट २ पहाड पश्चिम रुकुमका ३७ वर्षीय धनबहादुर बोहरा तथा पार्टी सदस्यहरु बाणगंगा नगरपालिका ८ कपिलवस्तुका ३१ वर्षीय बिष्णुबहादुर रावत, तुलसीपुर १५ हरिपौरा दाङका ३४ वर्षीय कुलबहादुर वली र शान्तिनगर गाउँपालिका २ सिमसुन्दरपुर दाङका ४९ वर्षीय ईन्द्रबहादुर वली छन् ।

 चन्द समूहका नेताहरु त्यस क्षेत्रमा गएको सूचना पाएपछि जिल्ला प्रहरी घोराही, ईलाका प्रहरी कार्यालय गढवा र वडा प्रहरी कार्यालय लमहीको टोली परिचालन भएको थियो । बैठक बसेर दुईवटा घरमा सुतिरहेको अवस्थामा प्रहरीले घर घेरा हालेर पक्राउ गरेको थियो ।


प्रतिक्रिया