अन्नपूर्ण आधार शिविरमा हराईरहेकाको उद्धारमा ३ हेलिकप्टर

माघ ४, २०७६ | पोखरा

प्रसिद्ध पर्यटकीयस्थल अन्नपूर्ण आधार शिविर जाने र फर्कने क्रममा हिमपहिरोमा परेर सम्पर्क बिहीन भएका पर्यटकको उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ । 

अन्नपूर्ण आधार शिविर, माछापुच्छ्रे आधार शिविर लगायत स्थानमा रहेका विदेशी र आन्तरिक पर्यटकको उद्धारको लागि तीन हेलिकप्टर परिचालन गरिएको प्रहरीले जनाएको छ । 

आधार शिविरमा हराईरहेका विदेशी पर्यटक, नेपाली गाइड र पोर्टरको खोजी जारी छ । कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार एयर डाइनेष्टी, सिम्रिक र प्रभुका तीन हेलिकप्टर अहिले अन्नपूर्ण क्षेत्रमा खटेका छन् । 

अहिलेसम्म २० पर्यटकलाई पोखरा ल्याईसकिएको छ भने ५५ जनालाई छोम्रोङमा ल्याईएको छ । ‘ठूलो संख्यामा कोरियन, अष्ट्रेलियन र चिनियाँ पर्यटक गएका रहेछन’ कार्कीले भन्नुभयो, ‘हिमपातले बाटो छेकिएपछि उनीहरुलाई उद्धार गरिएको हो ।’

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिमालय र देउराली बीचको हिङकुमा शुक्रबार बिहान ११ बजेतिर आएको हिमपहिरोमा ७ बेपत्ता भएको प्रहरीले जनाएको छ । 

कास्की प्रहरी प्रमुख कार्कीका अनुसार ४ जना कोरियन पर्यटक र ३ जना नेपाली सम्पर्कबिहीन छन् । सञ्चार सम्पर्क नहुँदा यसअघि सम्पर्कबिहीन हुनेको संख्या फरक–फरक आएको थियो । 

गत बिहीबार र शुक्रबारको ठूलो हिमपातपछि हिमपहिरो आएको र सम्पर्कबिहीन त्यही पहिरोमा परेको अनुमान गरिएको छ । 

घटनास्थल पुगेका देवकाजी गुरुङका अनुसार बाक्लो हिउँ जमेका कारण घटनास्थलमा तत्काल कुनै पनि उद्धार गर्न सकिने अवस्था छैन ।

 ‘एउटा प्लाष्टिक हिउँमा पुरिएको अवस्थामा देखिएको छ । अरु अत्तोपत्तो छैन । पहिरोले अघि बढ्ने अवस्था पनि छैन’ गुरुङले टेलिफोनमा भने, ‘हिउँ नपग्लिएसम्म उद्धार गर्न सकिने अवस्था छैन ।’ 


प्रतिक्रिया