आज राती १२ बजे देखि मौन अवधि सुरु हुने

माघ ६, २०७६

राष्ट्रियसभा निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हु“दैछ । मतदान सुरु हुन भन्दा ४८ घण्टाको मौन अवधिमा उम्मेदवारले औपचारिक÷अनौपचारिक कुनै पनि कार्यक्रम गर्न नपाउने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रियसभा निर्वाचनमा परिवेक्षण गर्न चाहने संघसंस्थालाई आज अपरान्हसम्म निवेदन दिन समेत आयोगले आग्रह गरेको छ ।

 राष्ट्रियसभाको पहिलो बैठक बसेको २ वर्षमा कार्यकाल सकिने १९ जनामध्ये १८ सिटका लागि आगामी विहिबार निर्वाचन हुन लागेको हो । एक सिटमा भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ । राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेकपा र नेपाली कांग्रेसले समान १६, समाजवादी पार्टीले ७ तथा राष्ट्रिय जनता पार्टी राजपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका २–२ जनालाई चुनावमा उठाएका छन् ।

 राष्ट्रियसभा निर्वाचन प्रदेश–१ को विराटनगर, प्रदेश–२ को जनकपुर, बागमति प्रदेशको ललितपुर, गण्डकी प्रदेशको पोखरा, प्रदेश–५ को घोराही, कर्णाली प्रदेशको विरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको सिलगढीमा बिहान १० बजेदेखि ४ बजेसम्म मतदान हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । 


प्रतिक्रिया