गण्डकी प्रदेश कोरोना तथा अन्य संक्रमण प्रति सतर्क

फाल्गुन २६, २०७६ | पोखरा

– विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस जस्तै अन्य संक्रमणबाट सतकर्ता अपनाउन गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले विभिन्न १० समिति गठन गरेको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माको अध्यक्षता र सामाजिक विकास मन्त्री नरदेवी पुनको उपस्थितिमा बसेको बैठकले समितिहरु गठन गरेको हो । कोरोना भाईरस लगायत अन्य संक्रमण रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनका लागि समिति गठन गरिएको मन्त्रालयको स्वास्थ्य महाशाखाका स्वास्थ्य तथ्यांक सुपरिवेक्षक बुद्धिसागर अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार ती समितिहरुले ३ दिनभित्र कार्ययोजना अर्थात् प्रतिवेदन मन्त्रालयमा बुझाउने छन् । मन्त्रालयका डा रामबहादुर केसीको संयोजकत्वमा ८ सदस्यीय रहने गरी अस्पताल व्यवस्थापन समिति गठन गरिएको छ । समितिले अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, प्रतिकार्य समिति गठन, तालिम पाठ्क्रम विकास, समितिलाई तालिम प्रदान, तोकिएका अस्पतालमा न्युनतम मापदण्ड सुनिश्चित गर्ने, श्रोत अभावको आंकलन तथा व्यवस्थापन, संचार तथा समन्वय, अस्पतालसंग सम्बन्धीत विशेष निर्णय गर्ने छ ।

यसैगरी निर्देशक डा शर्माको संयोजकत्वमा ५ सदस्यीय रहने गरी कर्मचारी व्यवस्थापन समिति गठन भएको छ । समितिले स्वास्थ्यकर्मीको जिम्मेवारीसहितको नामावली संकलन, परिचालन स्थानको छनोट, कर्मचारीको लागि आवश्यक सामग्रीको व्यवस्थापन, तालिम तथा अभिमुखीकरण र शंकास्पद व्यक्तिको व्यवस्थापन गर्ने छ । पत्रकार महासंघ कास्कीको अध्यक्ष संयोजक रहने गरी ७ जनाको सूचना तथा संचार व्यवस्थापन समिति रहेको छ । यसले तोकिएको ढाँचामा सूचना संकलन, प्रमाणीकरण र विश्लेषण गर्ने छ । नेपाल रेडक्रस सोसाइटी कास्कीको सभापतिको संयोजकत्वमा ४ सदस्य रहनेगरी एम्बुलेन्स व्यवस्थापन समिति बनाएको छ । एम्बुलेन्सको विवरण संकलन, छनोट, परिचालन, स्वास्थ्यकर्मी, चालक तथा सहयोगीलाई तालिम तथा अभिमुखीकरणको काम यो समितिले गर्ने छ । यसरी नै ७ सदस्यीय रहने गरी गठन भएको क्वारेन्टाइन व्यवस्थापन समितिले क्वारेन्टाइन स्थलको छनोट, आवश्यक सामग्री व्यवस्थापन र समुहको (स्वास्थ्य, सुरक्षा, सरसफाई, भान्छा) छनोट, जिम्मेवारी तथा तयारीको क्षेत्रमा काम गर्ने छ । दु्रत प्रतिकार्य सर्भिलेन्स समिति, हेल्थ डेस्क व्यवस्थापन समिति, प्रयोगशाला तथा नमूना संकलन समिति, १२ सदस्यीय रहने गरी प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीको अध्यक्षतामा बजार अनुगमन तथा नियमन समिति र आपूर्ति व्यवस्थापन समिति गठन भएका छन् । 


प्रतिक्रिया