'हरेक मृत्युलाई कोरोना भाइरससँग नजोडनुस्, गाउँघरमा मलामी पनि नपाउने अवस्था आयो' : स्वास्थ्य विज्ञ

रेडियो कान्तिपुर संवाददाता

चैत्र १७, २०७६ | काठमाडौं

काठमाडौंको टेकु र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमण आशंकामा संकलित नमुना परीक्षण हुँदै आएकामा पर्सी देखि अन्य ४ स्थानमा समेत सुचारु हुने भएको छ । जसबाट संभावित संक्रमित व्यक्तिको पहिचान छिटो हुने विश्वास गरिएको छ । चीनबाट ल्याइएका स्वास्थ्य सामग्रीबाट पर्सीदेखि जनकपुर, सुर्खेत, धनगढी र बुटवलमा कोरोना परिक्षणको तयारी भईरहेको स्वास्थ्य मन्त्रालयका सह सचिव डा. रोशन पोखरेलले बताउनुभएको हो ।


स्वास्थ्य सामग्रीमा गगल्स, पीपीई गाउन, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, इन्फ्रारेड थर्मामिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मसिन, पोर्टेबल पीसीआर रिएजेन्ट, संक्रमण परीक्षण किट, नमुना संकलन गर्ने ट्युबहरु छन् । मुलुलका विभिन्न स्थानमा आइसोलेसनमा रहेकाहरुको नमुना संकलन गरि परिक्षणका लागि हालसम्म काठमाडौंका शुक्रराज अस्पताल वा धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याउनुपर्ने बाध्यकारी अवस्था रहँदै आएको छ । हालसम्म शुक्रराज अस्पतालमा हालसम्म ९ सय ९३ तथा विपी कोइराला अस्पतालमा १९ वटा नमुना परिक्षण भएका छन् । सो परिक्षणबाट ५ जनालाई मात्र कोरोना संक्रमण पुष्टी भएको छ । जसमध्ये एक जना पूर्ण रुपमा निको भइसकेका छन् । त्यस्तै, सो स्वास्थ्य सामग्रीको गुणस्तर परिक्षण गरि सातवटै प्रदेशमा समानान्तर वितरण गरिएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताउनुभयो ।


कोरोना संक्रमित व्यक्तिका आफन्तमा गरिएका सबै परिक्षणमा संक्रमण नदेखिएको समेत मन्त्रालयले स्प्रष्ट पारेको छ । त्यस्तै बुटवलको अस्पतालमा आइसोलेसनको क्रममा मृत्यु भएका २४ वर्षिय पुरुषको मृत्यु कोरोना संक्रमणका कारण नभएको प्रवक्ता देवकोटाले बताउनुभयो ।


यसैबीच मन्त्रालयले हरेक मृत्युलाई कोरोना भाइरससँग नजोड्न आग्रह गरेको छ । गाउँघरमा कसैको मृत्यु भएमा कोरोनाकै कारण मृत्यु भएको भन्दै मलामी समेत नजाने अवस्था आएको मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले बताउनुभयो । रुघाखोकी भन्दा पनि सामान्य संक्रमण भएकाले संगमता अपनाउन उहाँले आग्रह गर्नुभयो 


प्रतिक्रिया