विपन्न परिवारलाई तीन हजार राहत

चैत्र २७, २०७६ | धनगढी

सुदूरपश्चिम प्रदेश सरकारले अति विपन्न, असहाय र ज्यालादारी मजदुरका परिवारका लागि राहत स्वरुप प्रतिपरिवार तीन हजार रुपैयाँ सहयोग गर्ने भएको छ । आज बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले राहतका लागि विनियोजन गरिएको १६ करोड रुपैयाँ स्थानीय तहमार्फत वितरण गर्ने निर्णय गरेको छ । 

बैठकले २० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको छ । ती भेन्टिलेटरहरु नौ वटै जिल्लामा स्थापना गरिने छन् । यस्तै, यसअघि संघीय सरकारले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई २५ लाख रुपैयाँको बीमा गर्ने निर्णय गरेकोमा प्रदेश सरकारले थप १५ लाखको बीमा गर्ने निर्णय पनि गरेको छ । 

यस्तै, सञ्चारकर्मीलाई १५ लाखको बीमा गर्ने निर्णय पनि बैठकले मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । बैठकले सबै अस्पतालमा विकास समिति मातहतका स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय समेत गरेको छ । 

प्रदेश सरकारले नौ वटै जिल्ला प्रशासन कार्यालयलाई पाँच पाँच लाखका दरले र नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको प्रदेश कार्यालयका लागि १५/१५ लाखका दरले ब्यवस्थापनका लागि रकम उपलब्ध गराउने निर्णय गरिएको मुख्यमन्त्रीका प्रमुख सचिव शिवसिंह ओलीले बताउनुभयो ।

साथै प्रदेश तहमा फागुन मसान्तसम्म तिर्नुपर्ने कर, शुल्क र दस्तुरको अवधि बैशाख मसान्तसम्म थप गर्ने निर्णय पनि बैठकले गरेको छ ।


प्रतिक्रिया