आगो लाग्दा लाग्दै चिता सहित शव र मलामी बाढीले वगाइदियो

वैशाख १६, २०७७ | पाँचथर

शव राखेर सल्काइएको आगो दनदनी बलिरहेका बखत आएको बाढीले बगाउँदा ईलाममा मलामी गएका एक किशोरको ज्यान गएको छ ।

बाढीले आगो बलिरहेको चिता र शव सँगै बगाउँदा फाकफोक ३ सल्लेरीका १३ वर्षीय मनिष थेगिमको ज्यान गएको हो । सोमवार अपरान्ह साढे चार वजे फाकफोकथुम–३ सल्लेरीका ४० वर्षीय रामबहादुर लकान्द्रीको दाहसंस्कार गर्दैगर्दा फाकफोक खोलामा बाढी आएपछि मलामीहरु भागाभाग भएको फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राईले जानकारी दिनुभयो ।

घर नजिकै जंगलमा सुँगुरको चारो खोज्ने क्रममा लडेर ज्यान गुमाएका लकान्द्रीको चितामा दागवत्ती दिए लगत्तै भीषण बाढी आएको थियो ।

फाकफोक खोलाको शीर पाँचथरको घुर्बिसे पञ्चमी र आसपासमा भएको भीषण वर्षापछि बाढी आएको थियो ।

मलामी गएर साथीहरुसँग पौडी खेलिरहेका थेगिमको शव घटना भएको स्थानदेखि करिब ३ किलोमिटर तल भेटिएको छ । उनको पोष्टमार्टमका लागि पाँचथरको रवि अस्पताल लानका साथै लकान्द्रको शव पुन: खोजेर आज मंगलवार दाहसस्कार गरिने भएको छ । 


प्रतिक्रिया