प्रदेश १ मा पीसीआर ल्याब थपिंदै, दैनिक एक हजारको परीक्षण गर्ने लक्ष्य

जेष्ठ ११, २०७७ | मोरङ

प्रदेश १ सरकारले स्वाब परीक्षणको दायरा बढाउनका लागि पीसीआर ल्याबको क्षमता विस्तार गरिने भएको छ । दैनिक १ हजार जनाको स्वाब परीक्षण गर्ने गरी ल्याब थपिन लागेको हो । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित पीसीआर ल्याबको क्षमता विस्तार, धरानको हात्तिसार क्याम्पसको प्रयोगशाला र झापाको दमकस्थित भुटानी शरनार्थी शिविरको प्रयोगशालालाई पीसीआर ल्याबको रुपमा विस्तार गर्ने तयारी गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । 

यस्तै, मेची अस्पतालमा पनि पीसीआर ल्याब निर्माण भइरहेको उहाँले बताउनुभयो । अहिले विराटनगरस्थित कोशी अस्पतालको पीसीआर ल्याबमा दैनिक ७०, प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ३५ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पीसीआर ल्याबमा २ सय भन्दा बढी व्यक्तिको स्वाब परीक्षण गर्ने क्षमता छ ।

‘प्रदेशमा संक्रमितको संख्या बढ्दै गएको अवस्थाका लागि पूर्व तयारीमा जुटेका छौं,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि यस प्रदेशमा कोरोना संक्रमितको उपचारका लागि अस्थायी अस्पताल समेत थप्ने तयारी भइरहेको छ ।’

कोरोना भाइरस नियन्त्रण र उपचारका लागि प्रदेश सरकारले कोरोना अस्पताल समेत थपिन लागेको हो । कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा एक सय शैय्या, झापामा २ सय, पूर्वाञ्चल विश्वविद्यालय गोठ गाउँमा २ सय, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३ सय, चतरास्थित विवादित बाबा कृष्ण दास आश्रम बराह क्षेत्रमा २ सय र नेपाली सेना इटहरीमा ५० गरी थप ८ सय ५० शय्या थपिने मन्त्री घिमिरेले बताउनुभयो । 

भारतमा रोजगारी गरेर फर्किनेहरुको व्यवस्थापन गर्न ईलाम, झापा, मोरङ्ग र सुनसरी जिल्लामा होल्डिङ्ग एरिया पहिचान गरी निर्माण समेत थालिएको छ । होल्डिङ्ग एरियामा १५ हजार शैय्या रहने उहाँले बताउनुभयो । ईलाममा २ हजार, झापामा ४ हजार, मोरङ्गमा ५ हजार र सुनसरी जिल्लामा ४ हजार शैय्याको क्वारेन्टाइन निर्माण थालिएको उहाँको भनाई थियो । 


प्रतिक्रिया