चिकित्सकमाथि कुटपिट भएको घटनाको सीसीटीभी फुटेज गायब

जेष्ठ १७, २०७७ | काठमाडौं

उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गरेको भन्दै काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजका चिकित्सकहरुले शनिबार पनि विरोध जारी राखेका छन् । विरोध स्वरुप नेपाल मेडिकल कलेजका चिकित्सकहरुले कालोपट्टी बाँधेर काममा गरिरहेका छन् । 

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्नुपर्ने, सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग गर्दै उनीहरु कालोपट्टी बाँधेर शुक्रबारबाट विरोधमा उत्रिएका हुन् । उपचारको क्रममा गत बुधबार (यही जेठ १४ गते) ६४ वर्षीया महिलाको मृत्यु भएपछि मृतकका आफन्तले उपचारमा संलग्न चिकित्सकमाथि हातपात गरेका थिए । 

उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनालाई दिएर आफन्तले अस्पतालका चिकित्सक श्रीकुमार श्रेष्ठमाथि आक्रमण र कुटपिट गरेका थिए ।

चिकित्सकको मनोबल बढाउनुको सट्टा अस्पताल प्रशासन उल्टै चिकित्सकमाथि कुटपिट गर्नेको पक्षमा उभिएको भन्दै उनीहरुले शुक्रबारबाट अस्पतालको आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । ती बिरामी उच्च रक्तचाप र दमका दीर्घ रोगी भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । १४ गते आकस्मिक कक्षमा भर्ना भएका ती बिरामीको उपचारको क्रममा सोही दिन मृत्यु भएको थियो ।

आफूहरुको माग पूरा नभएसम्म विरोध जारी रहने नेपाल मेडिकल कलेजका आवासीय चिकित्सक डा.गुन्जन खड्काले बताउनुभयो । अस्पतालको आकस्मिक सेवा र फिभर क्लिनक बाहेक अन्य सेवा ठप्प गरी चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् । 

अस्पताल प्रशासनले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति गराउनुको साटो दोषीलाई उन्मुक्ति दिन चिकित्सकमाथि कुटपिट भएको घटनाको सीसीटीभी फुटेज समेत हटाएको डा.खड्काले आरोप लगाउनुभयो ।

अस्पताल प्रशासनले दोषीमाथिको कारबाही प्रक्रियामा असहयोग गरेको भन्दै दोषीलाई कारबाही नगरिए अस्पताल प्रशासनमा तालाबन्दी गर्ने चेतावनी उनीहरुले दिएका छन् । फुटेज लुकाउनुमा अस्पताल प्रशासनका व्यक्तिको पनि संलग्नता हुन सक्ने आरोप उहाँको छ । तर, अस्पताल प्रशासनले भने प्लक छुटेको, बिग्रेको भनेर दोषीलाई उम्काउन खोजेको डा. खड्काले बताउनुभयो ।

७२ घण्टाभित्र सीसीटीभी फुटेज ननिकालिए र दोषीलाई कारबाही नगरिए प्रशासनमा तालाबन्दी गर्ने डा. खड्काले चेतावनी दिनुभयो । ‘प्राविधिकसँग सोध्दा कसैले डिलिट गरेको बताएका छन्’, डा. खड्काले भन्नुभयो, ‘प्रशासनले हौसला दिनुपर्ने ठाउँमा उल्टै दोषीको पक्ष लिएर हामीलाई असहयोग गरे ।’ 

चिकित्सकमाथि भएको हातपातको विरोधमा नेशनल रेजिडेन्ट डक्टरर्स एशोसिएसन, जुनियर वेलफेयर सोसाइटी, रेजिडेन्ट एशोसिएसन अफ काठमाडौं युनिभर्सिटी र रेजिडेन्ट एशोसिएसन नाम्सले पनि ऐक्यवद्धता जनाएका छन् । स्वास्थ्यकर्मीमाथि कुटपिटको घटनालाई लिएर नेपाल चिकित्सक संघले सरकारको ध्यानाकर्षण समेत गराएको छ । 

हालको उत्पन्न महामारीसँग जुध्नका लागि युद्ध मैदानमा होमिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई हातपात गर्ने जस्ता अमानवीय र अक्षम्य घटना घटाउनेमाथि कानूनी कारवाही नगरिएको खण्डमा यसले देशभरको समग्र स्वास्थ्य सेवा प्रवाहलाई गम्भीर असर पार्ने सक्ने तर्फ सचेत रहन चिकित्सक संघ सरकारको ध्यानाकर्षण गराएको छ । 


प्रतिक्रिया