कोरोना मुक्त भएका ७५ वर्षीय वृद्धले भने, ‘मनोबल नै औषधि रहेछ’

कोरोना जितेर भरतपुर अस्पतालबाट शुक्रबार डिस्चार्ज भएका ७५ वर्षीय वृद्ध र उनकी श्रीमती । तस्बिर : कान्तिपुर । 

असार ५, २०७७

फोक्सोको क्यान्सर भएर केमोथेरापी गरिएका चितवनका ७५ वर्षीय वृद्ध कोरोना संक्रमणबाट मुक्त भएका छन् । गत जेठ ९ गते कोरोना संक्रमण पुष्टि भएका भरतपुर महानगरपालिका–६ केशरबागका ७५ वर्षीय वृद्ध पिसिआर परीक्षणमा कोरोना संक्रमित नभेटिएपछि शुक्रबार भरतपुर अस्पतालबाट डिष्चार्ज भएका हुन् । 

कुनै जटिल खाले लक्षण बिना कोरोना मुक्त भएका उनले दृढ मनोबलले रोग परास्त हुने अनुभव गरेको बताए । क्यान्सरको उपचार गराउन दिल्ली गएका उनलाई भरतपुर आएपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । उनीसँगै दिल्लीबाट फर्केकी ७३ वर्षीया श्रीमतीलाई पनि कोरोना संक्रमण देखिएको थियो । 

यी दम्पतिलाई संक्रमण देखिएको भोलि पल्ट उनका ५२ वर्षीय छोरामा पनि संक्रमण भएको थियो । छोरा केही दिनअघि डिस्चार्ज भएका छन् । वृद्ध दम्पतिको भने पीसीआर परीक्षण नै गरेर संक्रमणको अवस्था हेरिएको थियो । 

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले भन्नुभयो, ‘क्यान्सर रोगी र उनको श्रीमतीको बिहीबार आरटी पीसीआर परीक्षण गर्दा संक्रमण देखिएन । आज शुक्रबार डिस्चार्ज गर्‍यौं ।’ फोक्सोमा समस्या देखिएपछि उनी उपचारका लागि दिल्ली गएका थिए । ‘फेब्रुअरी १८ (फागुन ६) मा फोक्सोको देब्रे भागमा क्यान्सर भएको पत्ता लाग्यो । फेब्रुअरी २५ देखि अस्पतालमा नै भर्ना भए’ वृद्धले सुनाए ।

उपचारकै क्रममा कोरोना कहर फैलन थाल्यो । उनको केमोथेरापी सुरु भइरसको थियो । पाँच पटक केमोथेरापी लिएपछि घर जाने निधो गरे । दिल्ली हुँदै उनी जेठ ३ गते घर आए । ‘त्यहाँ बसे भवसागरमै परिन्छ कि भन्ने भयो । एम्बुलेन्स खोजेर घर आइयो । घर आएर होम क्वारेन्टिनमा बसेका थियौं । पछि चेक गराउँदा संक्रमण देखियो । आज महिना दिन नहुँदै कोरोना जितेर घर फर्के’ वृद्धले भने ।

भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले ७५ वर्ष पुगेका, फोक्सोको क्यान्सर भएको र केमोथेरापी लिएका व्यक्तिलाई संक्रमण देखिनु ठूलो जोखिम भएको बताउनुभयो । तर, सहजै संक्रमणलाई परास्त गरेको देख्दा औधि खुसी लागेको डा.अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बढी उमेरका व्यक्तिलाई संक्रमण हुनु खतरा हो । त्यसमाथि फोक्सोको क्यान्सर भएको व्यक्ति, किन कि कोरोनाले पनि फोक्सोमा नै असर गर्दछ ।’

केमोथेरापी लिएको व्यक्तिको शरीरमा रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ । ‘तर यस्तो व्यक्तिले पनि कुनै स्वास्थ्य जटिलता बिना कोरोना जित्नु भनेको आश्चकर्यजनक हो’ डा.अधिकारीले भन्नुभयो । उनी भरतपुर अस्पतालको क्याबिनमै बसे । सामान्य समस्या बाहेक जटिलताले कुनै लक्षण देखिएन । त्यसैले उनले अस्पतालको आईसीयू वा भेन्टिलेटर देख्नै परेन । औषधि पनि धेरै खानु परेन । 

सामान्य स्वास्थ्य अवस्थामा नै उनी संक्रमणमुक्त भए । ‘म त क्यान्सरसँग युद्ध गर्दै गरेको मान्छे, कोरोना पनि थपियो । यस्तो रोगी र बुढो मान्छेले लौ के हो कसोको भनेर चिन्ता मानेको भए जे पनि हुन सक्थ्यो । तर, मैले यो कोरोनालाई जित्नै पर्दछ भन्ने मनमा प्रण गरे’ वृद्धले भने । उनले कोरोनाको अरु औषधि होला नहोला तर, दृढ मनोबल नै मुख्य औषधि भएको बताए । ‘मैले यही अनुभव गरे, तीन करोड नेपालीलाई पनि म यही अनुरोध गर्दछु कि मनोबल उच्च राख्नुस’ उनले भने ।


प्रतिक्रिया