दाङमा भदौ २१ गतेसम्म निषेधाज्ञा

निषेधाज्ञापछि सुनसान दाङको तुलसीपुर बजार । तस्बिर : दुर्गालाल केसी/रेडियो कान्तिपुर । 

भाद्र १५, २०७७ | दाङ

दाङमा आइतबार राति १२ बजेदेखि निषेधाज्ञा सुरु भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि शुक्रबार बसेको कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले आइतबार राति १२ बजेदेखि भदौ २१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । 

निषेधाज्ञा सुरु भएपछि सोमबार बिहानैदेखि सार्वजनिक तथा निजी सवारी साधन, उद्योग, व्यवसाय, होटल, रेष्टुरेण्ट बन्द छन् । कोरोना संक्रमण फैलन नदिन एक साता निषेधाज्ञा जारी गरिएको केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो । 

निषेधाज्ञा अवधिभर अत्यावश्यक काममा अनुमति लिएका सवारीसाधन र अत्यावश्यक वस्तु उत्पादन र वितरण गर्ने उद्योग व्यवसाय बाहेक अन्य यातायात, उद्योग, व्यवसाय, कलकारखाना, होटेल, खाजाघर, रेष्टुरेण्ट, संघसंस्थाका कार्यालय बन्द हुने उहाँले बताउनुभयो । अत्यावश्यक कामका सरकारी कार्यालय थोरै कर्मचारीबाट मात्रै सञ्चालनको व्यवस्था मिलाईने उहाँले बताउनुभयो ।

सरकारी कारोबार गर्न अनुमति प्राप्त बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्था पनि सञ्चालन गर्न नपाइने रिजालले जानकारी दिनुभयो । अन्य बैंक तथा वित्तीय संस्थाले अत्यावश्यक काम गर्नैपर्ने अवस्था आए सरकारबाट तोकिएको स्वास्थ्य सुुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गरी निश्चित समयावधि र न्यूनतम कर्मचारी तोकी काम गर्न सक्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । 

निषेधाज्ञा अवधिमा नागरिकहरु पनि अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन, भेला, जुलुश, सभा, मेला, महोत्सव गर्न रोक लगाईएको रिजालले बताउनुभयो । समुदायमा पीसीआर परीक्षणको दायरा बढाउने निर्णय पनि भएको रिजालले जानकारी दिनुभयो ।

जिल्लामा हालसम्म ७ सय ७२ जना संक्रमित रहेको र तीमध्ये ६ सय ९८ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले बताउनुभयो । अहिले ७२ जना सक्रिय संक्रमित रहेको उहाँले जानकारी दिनुभयो । ४६ जना क्वारेन्टिनमा छन् । 


प्रतिक्रिया