झांक्रीले तातो फलामले डाम्दा एकको मृत्यु दुई घाइते

माघ १, २०७७ | पाल्पा

गुल्मीमा झारफुक गर्ने क्रममा झांक्रीले तातो फलामले डाम्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रेसुङ्गा नगरपालिका १, ओख्रेनी तीनधारमा भएको घटनामा इस्मा गाउँपालिका–३ दर्लामचौरका ६४ वर्षीय रामबहादुर मुखियाको झारफुक गर्ने क्रममा तातो फलामले डामेर मृत्यु भएको छ ।

मालिका गाउँपालिका–६ अर्जे स्थायी घर भई हाल रेसुङ्गा नगरपालिका–१, तीनधारामा भाडामा अस्थायी टहरा बनाई बस्दै आएका ३८ वर्षका रामप्रसाद श्रेष्ठ र उनकी श्रीमती ३६ वर्षकी शान्तीला श्रेष्ठले मुखियालाई सन्चो बनाउने बहानामा झारफुक गर्दा तातो फलामले डाम्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक केदारराज पन्तले बताउनुभयो ।

गुल्मीको ईश्मा गाउँपालिका–३, दर्लामचौरका मृतक मुखियाको जेठो छोरा ३४ वर्षीय हुम बहादुर, रेसुङ्गा नगरपालिका– ५, भुवनपानीकी ४० वर्षीया टोपला दमाई समेत घाइते भएका छन् । मुखिया ढाड दुख्ने बिरामी भई झारफुकका लागी पुस २५ गते देखि निरन्तर श्रेष्ठको घरमा लगेका थिए । घाइतेहरुहरुको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । श्रेष्ठ दम्पत्ती प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । श्रेष्ठ गुल्मीको मालिका गाउँपालिका– ६, अर्जेका हुन् । घाइतेका अनुसार गुल्मी ईश्मा गाउँपालिका–३, दर्लामचौर वस्ने कृष्ण बहादुर (मुखिया) र दाई हुम बहादुर मुखियाले आफ्नो बुबा राम वहादुर ढाड दुख्ने विरामी भए पछि झार फुक गर्नका लागि रामप्रसादको घरमा जाने गर्थे ।

राम प्रसाद र उनको श्रीमती सान्तीलाले झारफुक गरी उपचार गर्ने वहानामा खाना खान नदिई आगोमा फलामे रड, प्लाष्टिक पाईप तथा स्टीलको झाँजर तताई शरीरको विभिन्न भागमा डामी झारफुक गरेका थिए । त्यसै गर्ने क्रममा राम बहादुरको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा छ । मृतकलाई सन्चो हुन्छ आफैं एकछिनमा उठ्छन भन्दाभन्दै मुखियाको मृत्यु भएको घाइतेले बताएको प्रहरीले जनाएको छ । घाइते टोपला दमाईलाई पनि श्रेष्ठ दम्पत्तीले झारफुक गर्ने वहानामा पुस २४ गते पोली डामी घाईते बनाएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया