मध्यपहाडी लोकमार्ग : विवादित क्षेत्रमा काम थाल्न मध्यरातमा सहमति

मध्यपहाडी लोकमार्ग अन्तर्गत विवादित लमजुङको सुन्दरबजार क्षेत्रको अवलोकन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रधानमन्त्रीका पूर्वाधार विकासविज्ञ, लोकमार्ग आयोजनाका निर्देशक लगायत । तस्बिर : रेडियो कान्तिपुर । 

माघ ११, २०७७ | लमजुङ

२०७० भदौ २६ गते सरकारको निर्णय अनुसार मध्यपहाडी (पुष्पलाल) लोकमार्ग लमजुङमा परेपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सर्भेका लागि प्राविधिक टोली फागुनतिर लमजुङ आए । लमजुङमा मात्रै ५ खण्ड बनाएर सडक निर्माण गर्ने योजना अनुरुप सर्भे सुरु भयो । सुन्दरबजार क्षेत्रमा सर्भे गर्न आएका प्राविधिकलाई स्थानीयले फिर्ता पठाए । 

यसअघि बजारको बीचबाट निर्माण गरिएको सडकबाट लोकमार्ग निर्माण गर्न नदिने भन्दै स्थानीयले विरोध जनाए । करीब १० मिटर (पेटीसहित) चौडाई रहेको सडकलाई फराकिलो बनाएर लाने योजना आयोजनाले बनायो । लोकमार्गको मापदण्ड अनुसार दायाँबायाँ २५/२५ मिटर भत्काउँदा नागरिक ‘सुकुम्बासी’ हुने भन्दै सडक निर्माण गर्न दिईएन । ३ वर्षअघि स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधि पनि स्थानीयको मागमा अडिग रहे । 

मागबारे स्थानीय ‘टसकोमस’ नभएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङल तत्कालीन पर्यटन, वन, उद्योग तथा वातावरण मन्त्री रामशरण बस्नेतको नेतृत्वमा कार्यदल गठन गर्‍यो । गत वर्षको फागुन २० को मन्त्रिपरिषद् बैठकले गठन गरेको सो समितिले सुन्दरबजारका स्थानीयको सुझाव संकलन गरी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बुझाएको प्रतिवेदन केन्द्रीय सरकार समक्ष पुग्यो । 

लमजुङ आउँदा स्थानीयसँग मुख्यमन्त्री गुरुङले छलफल चलाईरहे । मुख्यमन्त्री गुरुङले सुन्दरबजार नगरपालिका प्रमुख जनकराज मिश्र, विवादित क्षेत्र वडा नम्बर २, ५, ६ र ७ अध्यक्षलाई बेंसीसहर बोलाए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल, प्रधानमन्त्रीका पूर्वाधार विकास विज्ञ गजेन्द्र थपलिया, मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजनाका निर्देशक दीपक केसी लगायतलाई बोलाएर छलफल चलाए । 

गण्डकी प्रदेश सांसद मायानाथ अधिकारी, धनञ्जय दवाडी, पूर्वसांसद जमीन्द्रमान घलेसमेत सम्मिलित बुधबार मध्यरात बेंसीसहरको एक होटलमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षतामा आयोजित छलफलले सुन्दरबजार क्षेत्रमा विवादित ८ किलोमिटर सडक निर्माण गर्न डीपीआर तयार गर्ने, बजार क्षेत्रलाई ‘विल्डअफ एरिया’ घोषणा १५/१५ मिटर मापदण्ड बनाउने र क्षति अनुसार नागरिकलाई पूर्ति दिने गरी सहमति जुटाएको छ । 

‘हामीले बुधबार राति करीब ७ वर्षदेखिको विवादित सुन्दरबजार क्षेत्रमा राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग बारे विवादलाई टुंग्याएका छौं । जनप्रतिनिधिले एक खालको सहमति जुटाउनु भएको छ’ मुख्यमन्त्री गुरुङले भन्नुभयो, ‘सर्प पनि मरोस र लौरो पनि नभाचियोस भन्ने हिसाबले अघि बढ्यौं । अब ३ बर्षमा यो सडक कालोपत्रे हुन्छ ।’

पुष्पलाल (मध्यपहाडी) लोकमार्ग योजना पालुङटार गोरखाका योजना प्रमुख सिनियर डिभिजन इन्जिनियर रामबहादुर गुरुङले पाउँदीदेखि सुन्दरबजार खत्रीठाँटी हुँदै किरिञ्चेखोलासम्मको विवादित ८ किलोमिटर सडकको डीपीआर तयार पार्ने विषयमा मध्यरात सहमति भएको बताउनुभयो । बैठक टुंगिदा रातको साढे १ बजेको थियो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले सुन्दरबजार क्षेत्रको अवरोध हटेसँगै राजमार्ग निर्माण गति तीब्र रुपमा अघि बढ्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘केही वर्षदेखि लमजुङ क्षेत्रमा भएको विवादले काम अघि बढ्न सकेन । अब तीब्र गतिमा अघि बढ्छ । काम अघि बढाउन नसकेका निर्माण व्यवसायीलाई १ वर्षभित्र काम सक्न चेतावनी दिएका छौं ।’ प्रधानमन्त्रीका पूर्वाधार विकास विज्ञ गजेन्द्र थपलियाले नागरिकको मागको सुनुवाई गर्दै विकास निर्माणलाई अघि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नागरिकको पक्षमा सहमति जुटाएर प्राविधिक रुपमा सहज बनाई विकास निर्माण गर्न हामी प्रतिवद्ध छौं ।’ 

मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजना निर्देशक दीपक केसीले सुन्दरबजार क्षेत्रमा सडक निर्माणका लागि डीपीआर तयार गर्ने र त्यसपछि सडक निर्माणकार्य अघि बढाउने सहमति भएको बताउनुभयो । लमजुङमा सबै सडक निर्माण भए लोकमार्ग ४८ दशमलव २२ किलोमिटरको हुनेछ । नेपालको मध्यपहाडी क्षेत्रबाट पूर्व–पश्चिम जोड्न राष्ट्रिय यातायात नीति २०५८ अनुसार पुष्पलाल (मध्यपहाडी) लोकमार्गको परिकल्पना गरिएको हो । 

परिकल्पनाको ६ वर्षपछि आर्थिक वर्ष २०६४/०६५ मा यसको सुरुवात गरियो । तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयले तयार गरेको मध्यपहाडी राजमार्गको रेखाङ्कन प्रस्तावलाई वि.सं. २०६५ फागुन २६ को मन्त्रिपरिषद् बैठकले अनुमोदन गरी अघि बढाइएको थियो । पूर्व–पश्चिमसम्म जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्ग पछिको यो तेस्रो राजमार्ग हो । 

निर्माण भईसकेपछि यसको लम्बाई १ हजार ७ सय ७६ किलोमिटर हुने प्रक्षेपण गरिएको छ । पूर्वमा पाँचथरको चियोभञ्ज्याङबाट सुरु भई पश्चिममा बैतडीको झुलाघाटसम्मको यो राजमार्गले पहाडका ३९ मध्ये २४ जिल्ला पार गर्छ । राष्ट्रिय गौरवको सो महत्वकांक्षीय आयोजना आर्थिक वर्ष २०७४/०७५ मा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो ।


प्रतिक्रिया