कांग्रेसलाई रास्वपाको पाँच बुँदे प्रस्ताव
जेष्ठ २६, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसद् अवरोध हटाउन सहमतिका लागि सत्तारुढ दल नेपाली कांग्रेसलाई पाँच बुँदे प्रस्ताव गरेको छ ।
रास्वपाले यसअघिका वार्ताका आधारमा सहमतिको खाका तयार गरी कांग्रेसलाई पाँच बुँदे प्रस्ताव पठाएको हो । जसमा भिजिट भिसाको नाममा भएको मानव तस्करी र सांगठनिक अपराधबारे पाँच दिनभित्र उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने प्रस्ताव गरिएको छ । त्यस्तै, सो समितिको कार्यक्षेत्र, संरचना, व्यवस्थापन र अधिकार निर्धारण गर्न कार्यसम्पादन समिति एक दिनभित्र गठन गर्नुपर्ने प्रस्ताव गरेको रास्वपाले जनाएको छ ।
कार्यसम्पादन समितिले छानविन समितिको कार्यविधि पाँच दिनभित्र तयार गरी समिति गठन गर्ने र कार्यारम्भ गर्नुपर्ने प्रस्ताव गरेको छ । रास्वपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भ्रष्टाचारजन्य कार्यहरूमा गरिरहेको अनुसन्धानमा हस्तक्षेप नगरी सरकारले पूर्ण सहयोग र सहजीकरण गर्नुपर्ने लगायत प्रस्ताव कंग्रेसलाई पठाएको छ ।