दक्ष शिक्षक अभावमा शेर्पा भाषा पढाई अन्योलमा

धापखर्क प्राथमिक विद्यालयमा अध्ययनरत शेर्पा समुदायका बालबालिका । तस्बिर : एलिसा श्रेष्ठ । रेडियो कान्तिपुर । 

माघ १३, २०७७ | भोजपुर

दक्ष भाषा शिक्षक नहुँदा भोजपुर नगरपालिक–५ बोखिमस्थित धापखर्क प्राथमिक विद्यालयमा शेर्पा भाषाको पढाई अन्योलमा परेको छ । दक्ष भाषा शिक्षक नहुँदा अभावमा देशकै पहिलो शेर्पा भाषा पठनपाठन सुरु भएको धापखर्क प्राथमिक विद्यालयमा पढाई अन्योल बन्दै गएको हो । 

विदेशी दातृ निकाय र विभिन्न निकायबाट स्रोत जुटेपनि शिक्षक दरबन्दी नहुँदा सो विद्यालयमा शेर्पा भाषाको पढाई संकटमा परेको हो । २०५० सालमा जापान सरकारको आर्थिक सहयोगमा मातृ भाषाको रुपमा शेर्पा भाषा पढाउने उद्देश्यले स्थापना गरिएको विद्यालयमा शिक्षक अभावमा पढाई सुस्ताउँदै गएको हो । ऐच्छिक विषयको रुपमा मातृभाषालाई उजागर गरेर लैजाने भनिएपनि दक्ष भाषा शिक्षक नै नहुँदा पठनपाठनमा समस्या आएको अभिभावक सुनाउँछन् । 

‘हाम्रा बच्चाहरु पनि आफनो भाषालाई सिक्छन्, जान्दछन् भन्छौं तर विद्यालयमा शिक्षक नै छैन, लोप बन्न लागेको आफ्नो मातृभाषा पनि सिक्न पाएका छैनन्’ स्थानीय छिरिङ शेर्पाले भने, ‘हाम्रो शेर्पा भाषाको जगेर्ना हुन्छ, भाषालाई आउने पुस्ता पनि केहि सिकेर पछिल्लो पुस्तामा हस्तान्तरण हुन्छ भनेर सुरु भएको कक्षा नै चल्दैन ।’

शेर्पा जातीको बाहुल्यता रहेको सो विद्यालयमा आवश्यक स्रोत जुटाईएपनि शिक्षक अभावमा पठनपाठन बन्द हुने अवस्थामा पुगेको विद्यालयले जनाएको छ । आफ्नो मातृभाषालाई जगेर्ना गर्ने र पुस्तान्तरण गर्दै लैजाने उद्देश्यले पाठ्यक्रमसहित कक्षा सुरु गरिएपनि शिक्षकको दरबन्दी नै खाली रहेपछि कक्षा सञ्चालनमा अड्चन थपिएको विद्यालयका प्रधानाध्यापक हर्कराज शेर्पाले बताउनुभयो ।

‘जुन हिसाबले शेर्पा भाषा पढाउने भनिएर विद्यालय खोलियो, त्यहि पढाई हुन सकेको छैन’ प्रधानाध्यापक शेर्पाले भन्नुभयो, ‘श्रोत र दातृ निकायको सहयोग पाएपनि दक्ष भाषा शिक्षक नहुनु नै पठनपाठन व्यवस्थापनमा समस्या थपिएको छ ।’

मातृ भाषा पठनपाठनका लागि शिक्षक उपलब्ध गराउने प्रावधान रहेपनि मातृभाषा विषय शिक्षक नहुँदा व्यवहारिक हुन नसकेको सरोकारवालाको दाबी छ । कक्षा १ देखि ५ सम्म ऐच्छिक विषयको रुपमा शेर्पा भाषा पठनपाठन गराउन सुरु गरिएपनि पर्याप्त पाठ्यपुस्तक र शिक्षक अभावले पढाई अन्योलमा परेको शेर्पा भाषा संरक्षक स्थानीय निमा शेर्पाले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘देशभित्र पहिलोपटक सुरु गरिएको शेर्पा भाषा पढाई अहिले दरबन्दी अनुसारको शिक्षक र पाठ्यपुस्तक नहुँदा ओझेलमा पर्दै गएको छ, पढाई बन्द हुनाले हाम्रो मातृभाषा लोप हुने अवस्थामा पुगेको छ ।’ शेर्पा भाषा पठनपाठन नहुँदा दातृ निकायको सहयोग पनि खेर गईरहेको छ । 

अर्कोतर्फ शेर्पा भाषा पढ्ने विद्यार्थीका लागि उपयुक्त पाठ्य सामग्री उनीहरुको हातमा नपर्नुले पनि शेर्पा भाषाको पढाई अन्योलमा परेको हो । शिक्षक अभाव र आवश्यक पाठ्यपुस्तकको अभावमा शेर्पा भाषाका विद्यार्थी भाषा सिकाईबाट वञ्चित हुनुपरेको अभिभावकहरु सुनाउँछन् ।


प्रतिक्रिया