चार दिनपछि खुल्यो किमाथांका-खाँदबारी सडक

पहिरो हटाएपछि संखुवासभाको माम्लि–पिलुवा खोला सडकमा यातायात सञ्चालन हुँदै । तस्बिर : दीपेन्द्र शाक्य/रेडियो कान्तिपुर । 

असार २४, २०७८ | संखुवासभा

चीनको तिब्बतसँग जोड्ने कोशी राजमार्ग चार दिनपछि बिहीबारबाट सञ्चालनमा आएको छ । उत्तर–दक्षिण कोशी सडक अन्तर्गत संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दा–हेदांना सडकखण्ड पहिरो खसेपछि चार दिनबाट अवरुद्ध थियो । 

उत्तर–दक्षिण कोशी सडक योजनाका प्रमुख गौतम कुमार श्रेष्ठका अनुसार बिहीबार १ बजेदेखि सडकखण्डमा खसेको पहिरो हटाएपछि सञ्चालनमा आएको हो । भीरबाट पहिरो खसेको र अप्ठेरो ठाउँ भएकाले पहिरो हटाउन चार दिन लागेको उहाँले जानकारी दिनुभयो ।

‘पहिरो करीब सय मिटर मात्र खसेको भएपनि अप्ठेरो ठाउँ थियो, श्रेष्ठले भन्नुभयो, ‘बल्ल पहिरो हटाएर यातायातका साधन सञ्चालन गरेका छौँ ।’ सो स्थानमा हरेक वर्ष पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ । यो सडक तिब्बतको चाँगा र देन्दासँग जोडिन्छ । 

पहिरो खसेपछि उत्तरी क्षेत्रका भोटखोला गाउँपालिकामा खाद्यान्न ढुवानीमा समस्या थियो । यस्तै, कोशी राजमार्गको माम्लिङ्–पिलुवा खोला सडकखण्डमा पनि पहिरो हटाएपछि यातायात चलेको छ । 

ठूल्ठूला ढुंगा सहितको सुख्खा पहिरो खसेर यो सडक पनि तीन दिनबाट अवरुद्ध थियो । यो सडकखण्ड विराटनगर हुँदै धरान–धनकुटा भएर संखुवासभा भित्रिने मुख्य सडक खण्ड हो ।


प्रतिक्रिया