बाढीले मनाङको चामेमा झोलुंगे पुल बगायो

मनाङ सदरमुकाम चामेको मर्स्याङ्दी नदीमाथि निर्मित झोलुंगे पुल । तस्बिर : रेडियो कान्तिपुर । 

श्रावण ६, २०७८ | लमजुङ

मनाङ सदरमुकाम चामेमा रहेको एकमात्र झोलुंगे पुल बाढीले बगाएको छ । बाढीले बगाएर ल्याएको ढुंगामुढाले सँगै रहेको बेलिब्रिज पनि पुरेको छ । चामेमा रहेको झोलुंगे पुल बगाएपछि माथिल्लो मनाङसंगको सम्पर्क विच्छेद भएको छ । 

चामे गाउँपालिका–५ का वडा अध्यक्ष कैले गुरुङका अनुसार मंगलबार राति आएको बाढीले वडा नम्बर–४, चामेबजारदेखि वडा नम्बर–५ को पारी चामे जोड्ने झोलुंगे पुल बगाएको हो । यो माथिल्लो मनाङ जाने चामेस्थित एकमात्र झोलुंगे पुल हो । 

नेपाल प्रहरीका डीएसपी सुवास खड्काका अनुसार बेलिब्रिजले बाढी रोकिदिएपछि धार परिवर्तन गर्दा झोलुंगे पुल बगाएको हो । सशस्त्र प्रहरी बल नं. ३२ गुल्म, चामे मनाङका डीएसपी होमनाथ पन्थीका अनुसार यसअघि बेलिब्रिज जोगाउन खोज्दा सकिएन । 

अहिले झोलुंगे पुल जोगाउन खोज्दा पनि सकिएन । उहाँले भन्नुभयो, ‘हामीले बगाउन लागेको लट्ठा तान्ने प्रयास गर्‍यौं । बाढीका कारण सकिएको छैन ।’ निमित्त प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले पुलको दायाँबायाँको जिपलाई क्षति पुर्‍याएको छ । 

उहाँले भन्नुभयो, ‘बेलिब्रिज बाँध बनेर बाढी थुनिदिएपछि बाढी धार परिवर्तन गरी चामेतिर बगेको छ । बाढी बढेपछि लोकप्रिय माविलाई क्षति पुर्‍याउँदै झोलुंगे पुललाई हान्यो । अहिले झोलुंगे पुल नै बगायो ।’ निमित्त प्रमुख जिल्ला अधिकारी चालिसेका अनुसार पुलको लट्ठा तान्न खोजिए पनि पुन: पहिरो जानेजस्तो देखिएर छाडेको छ ।


प्रतिक्रिया