महाकालीको बाढीले पहुँच मार्ग बगायो, नदी किनारका बस्ती डुबानमा

कार्तिक २, २०७८ | कञ्चनपुर

आइतबारदेखिको अविरल वर्षापछि महाकाली नदीमा आएको बाढीले निर्माणाधिन चार लेनको पक्की पुलको पुहँच (भाइरल रोड) मार्गमा क्षति पुर्‍याएको छ । भीमदत्त नगरपालिका–१२ मा पर्ने करीब सय मिटर जति पुहँच मार्ग नदीले कटान गरेको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार महाकालीमा मंगलबार पानीको बहाव ५ लाख ४ हजार क्युसेक पुगेको छ । नदीले पहुँच मार्ग कटान निरन्तर गरिरहेको छ । ६ लेनको सडक मध्ये सय मिटरसम्म तीन लेन सडक कटान गरिसकेको छ । 

यसैगरी, महाकाली नदीको बाढी भुजेला खोला हुँदै बस्तीमा पसेपछि नदी किनारका भीमदत्त नगरपालिका– ११, १२ र १३ का सयौं घरहरु डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–९ खल्ल मसेट्टीमा पनि बाढी बस्तीमा पस्दा दर्जनौं घरहरु डुबानमा परेका छन् । 

‘खल्ला मसेट्टीदेखि दोधारा चाँदनीसम्म दुई सय बढी घर डुबानमा परेका छन्,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेले भन्नुभयो, ‘सबैलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।’

यसैबीच, महाकालीको बाढीका कारण बिच भागमा फसेका मसेट्टीका ५ जनाको अझै उद्धार हुन सकेको छैन । नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गर्ने भनेपनि प्रतिकूल मौसमका कारण सम्भव नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

नदीमा पानीको बहाव बढ्दै गएपछि टापुमा फसेकाहरुलाई झनै जोखिम बढ्दै गएको छ । उनीहरु सोमबार रातिदेखि टापुमा फसेका हुन् । महाकालीमा पानीको बहाव बढेपछि बनबासा पुलमा आवागमन ठप्प गरिएको छ । 

सोमबार साँझ चार पांग्रे सवारी साधन आवागमनमा मात्रै रोक लगाइएको थियो । मंगलबार बिहानैदेखि पानीको बहाव उच्च भएका कारण पैदल यात्रुलाई समेत आउजाउमा रोक लगाइएको छ ।


प्रतिक्रिया