नेपालमा थप १२ हजार ८ जनामा कोरोना संक्रमण

माघ ११, २०७८ | काठमाडौं

नेपालमा थप १२ हजार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १८ हजार १ सय ३ पीसीआर परिक्षणमा ९ हजार ४ सय ३२ र ७ हजार ८ सय ६ एन्टीजेन परिक्षणमा २ हजार ५ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक ३ हजार ४० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । त्यस्तै, थप ८ जना संक्रमितको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ८८ हजार ९ सय ३४ रहेको छ ।

यसैवीच, काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना संक्रमण विरुद्धको खोप कार्यक्रम आजदेखि पुन: संचालन गरेको छ । काठमाडौं महानगरपालिकाको स्वास्थ्य शाखा तथा नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन भएपछि अस्पतालमा खोप कार्यक्रम शुरु भएको हो । यसअघि खोप कार्यक्रममा सहभागी भएका चिकित्सक तथा स्वास्थ्यकर्मी नै संक्रमित भएपछि अस्पतालले एक साताका लागि खोप कार्यक्रम स्थगित गर्ने निर्णय गरेको थियो । 


प्रतिक्रिया