रसुवागढी क्षेत्रमा आएको भीषण बाढीपछि १८ जना सम्पर्क विहिन, ७ जनाको शव फेला

असार २४, २०८२
उत्तरी छिमेकी चीनसँगको प्रमुख व्यापार नाका रसुवागढी क्षेत्रमा आएको भीषण बाढीपछि १८ जना व्यक्ति सम्पर्क विहिन भएको स्थानीय प्रशासनले जनाएको छ । नेपाल प्रहरीका तीन जना, ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक सम्पर्क विहिन भएको तथ्याङ्क सार्वजनिक भएको छ ।
आज विहान ३ बजेतिर आएको बाढीपछि अहिलेसम्म ७ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ । शवको पहिचान हुन बाँकी रहेको बताइएको छ । स्थानीय प्रशासनका अनुसार नेपाल प्रहरीका लालवहादुर श्रेष्ठ, मुना ठाकुर, लोकेन्द्र बोहोरा सम्पर्क विहिन छन् ।
त्यस्तै, बर्दियाका जिपन चौधरी, बुद्धिराम थारु, सन्तोष दहित, लक्ष्मीनारायण थारु, सुरेश थारु तथा बाग्लुङका नरेन्द्र वि.क, सिन्धुपाल्चोकका फुर्वा लामा समेत सम्पर्क विहिन भएको स्थानीय प्रशासनको भनाइ छ । त्यसैगरी ठेगाना नखुलेका गोविन्द मोक्तान र लोकमान तामाङ सम्पर्क विहिन भएका छन् । यसैबीच, बाढीपछि सो क्षेत्रबाट ४ महिलासहित ५५ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ५० जना नेपाली नागरिक, ४ जना भारतीय र एक जना चिनियाँ नागरिक छन् ।